काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीमा भौतिक क्षति पुगेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार राति १:१५ बजे भन्सार कार्यालयको उत्तर-पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको हो । पहिरोसँगै झरेका ढुंगाहरू आपसमा ठोक्किएर उछिट्टिँदा बीओपी परिसरका विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ ।
घटनामा कुनै मानवीय क्षति भने भएको छैन । पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको, दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको तथा जस्ताको छानोमा ६ वटा प्वाल परेको छ । यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा र अर्को आंशिक रूपमा क्षतिग्रस्त भएको छ ।
त्यसैगरी, सशस्त्र प्रहरी निरीक्षकको बाथरुमको भित्तामा प्वाल परेको, हिमाली ज्याकेटमा ढुंगाले प्वाल पारेको, राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको, जिन्सी स्टोर भवनमा तीन वटा प्वाल परेको तथा मुख्य प्रवेशद्वार अगाडिको सिँढीमा समेत क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।