महँगो स्किन केयर होइन, आँपले पनि ल्याउन सक्छ प्राकृतिक ग्लो

काठमाडौं । आँप स्वादिलो फल मात्र होइन, छालाको स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । विज्ञहरूका अनुसार सन्तुलित मात्रामा आँप खानुका साथै छालामा प्रयोग गर्दा प्राकृतिक चमक र निखार बढाउन मद्दत मिल्न सक्छ ।

आयुर्वेद विशेषज्ञ डा. राजेश बयारीका अनुसार आँपमा भिटामिन सी, ए, ई, बी–६, कपर र फोलेटलगायत महत्त्वपूर्ण पोषक तत्व पाइन्छ । यी तत्वले छालाको रगत सुधार्न, कोलाजेन उत्पादन बढाउन र छालालाई स्वस्थ राख्न सहयोग गर्छन् ।

उनका अनुसार आँपको गुदी मात्र होइन, बोक्रा, खोया र त्यसबाट बन्ने म्याङ्गो बटर तथा म्याङ्गो आयल पनि छाला हेरचाहका लागि उपयोगी हुन सक्छ । 

आँपबाट दैनिक आवश्यक भिटामिन सीको करिब ६७ प्रतिशत प्राप्त गर्न सकिन्छ । साथै कपर, फोलेट, भिटामिन बी–६, भिटामिन ए र भिटामिन ई पनि पर्याप्त मात्रामा पाइन्छ ।

भिटामिन सीले कोलाजेन उत्पादन बढाएर छालालाई कसिलो बनाउन मद्दत गर्छ । कपरले पनि यसमा सहयोग पुर्याउँछ । यसका साथै आँपमा रहेका एन्टिअक्सिडेन्टले कालो दाग कम गर्न र छालामा प्राकृतिक चमक ल्याउन सहयोग गर्न सक्छन् ।

भिटामिन ए (बिटा–क्यारोटिन) ले नयाँ छाला कोष बन्ने प्रक्रिया तीव्र बनाउँछ । यसले चाउरीपन, रेखा र पिम्पल कम गर्न सहयोग गर्न सक्छ ।

भिटामिन ईले छालामा आवश्यक चिस्यान कायम राख्छ । यसले छालालाई सुख्खा हुनबाट जोगाउन मद्दत गर्छ । आँपमा पाइने पोलिफेनोल र अन्य एन्टिअक्सिडेन्टले सूजन र जलन कम गर्न पनि सहयोग पुर्याउन सक्छन् । 

यसरी प्रयोग गर्न सकिन्छ आँप

आँपको गुदीमा मह वा दही मिसाएर फेस मास्क बनाउन सकिन्छ । यसलाई अनुहारमा करिब १५ मिनेट राख्दा छालालाई पोषण मिल्ने विज्ञहरू बताउँछन् ।

आँपको गुदी, ओट्स वा सुजी र काँचो दूध मिसाएर स्क्रब बनाउन सकिन्छ । यसले मृत छाला हटाउन सहयोग गर्न सक्छ ।

आँपको गुदीमा मुल्तानी माटो मिसाएर एन्टी–एजिङ फेस प्याक बनाउन सकिन्छ । बेसन र कागतीको रससँग मिसाएर ट्यान हटाउने फेस प्याकका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

आँपको गुठलीबाट तयार गरिने म्याङ्गो बटर छालामा सिधै लगाउन सकिन्छ । यसले छालालाई नरम र चिस्यानयुक्त बनाउन सहयोग गर्न सक्छ ।

त्यसैगरी, म्याङ्गो आयलका केही थोपा राति अनुहार सफा गरेपछि लगाउन वा मोइस्चराइजरसँग मिसाएर प्रयोग गर्न सकिन्छ । 

सावधानी पनि आवश्यक

विशेषज्ञका अनुसार अत्यधिक आँप सेवन गर्दा केही व्यक्तिमा पिम्पलको समस्या बढ्न सक्छ । आँपमा प्राकृतिक चिनीको मात्रा बढी हुने भएकाले धेरै सेवन गर्दा इन्सुलिनको स्तर बढ्न सक्छ । यसले छालामा बढी तेल उत्पादन भई रोमछिद्र बन्द हुँदा पिम्पल देखिन सक्ने सम्भावना रहन्छ ।

तेलीय छाला भएका, पिम्पलको समस्या भएका, पीसीओएस, इन्सुलिन रेजिस्टेन्स वा हार्मोन परिवर्तनको अवस्थामा रहेका व्यक्तिले आँप सीमित मात्रामा सेवन गर्नुपर्ने सुझाव विज्ञहरू दिन्छन् ।

यदि आँप खाएपछि अनुहारमा रातो दाग, चिलाउने, जलन, र्यास, पिम्पल वा अपचजस्ता समस्या देखिएमा चिकित्सकको परामर्श लिन पनि विशेषज्ञहरूले सुझाव दिएका छन् ।

(नवभारत टाइम्सबाट अनुदित तथा सम्पादित)

Share News