काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंको बनस्थलीमा रहेको आफ्नो केन्द्रीय कार्यालय अन्यत्र सार्ने भएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यालय सार्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकका निर्णयहरूबारे जानकारी गराउँदै प्रवक्ता खरेलले बनस्थलीस्थित वर्तमान कार्यालयबाट अन्यत्र सर्नुपर्ने आवश्यकता महसुस भएकाले सो निर्णय लिइएको बताए ।
पार्टीको नयाँ केन्द्रीय कार्यालयका लागि उपयुक्त जमिन वा घर खरिद गर्न काठमाडौं उपत्यकाभित्र पायक पर्ने स्थानमा खोजी गरिदिन बैठकले आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई अनुरोध समेत गरेको छ ।
हाल बनस्थलीमा सञ्चालन भइरहेको रास्वपाको केन्द्रीय कार्यालय जेनजी आन्दोलनपछि घरधनी भरतमणि देवकोटाले खाली गरिदिन अनुरोध गरेपछि पार्टीले नयाँ ठाउँको खोजी प्रक्रिया अगाडि बढाएको हो ।
पार्टी स्थापनको समयमा रास्वपाको पार्टी कार्यालय बसुन्धरामा थियो । पछि पार्टी कार्यालय वनस्थली सारिएको थियो ।
हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय बनस्थलीस्थित चौमतिमा छ । तर उक्त स्थानमा पार्टीलाई पार्किङ लगायतका लागि ठाउँ पर्याप्त नभएको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।