काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले देशभरका सरकारी अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा ठप्प पारेको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए ।
घटनामा गम्भीर घाइते भएका डा. प्रमोद रामको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घटनाको कडा निन्दा गर्दै नेपाल चिकित्सक संघले बिरामीको ज्यान बचाउन दिनरात खटिने स्वास्थ्यकर्मीमाथि मरणासन्न हुने गरी गरिएको आक्रमण अस्वीकार्य रहेको जनाएको छ ।
संघले उपचारका क्रममा कुनै लापरबाही वा त्रुटि भएको आशंका भए त्यसको छानबिन र कानुनी प्रक्रिया अघि बढाउने व्यवस्था हुँदाहुँदै हिंसात्मक आक्रमणमा उत्रिनु कानुनी राज्यको मूल्य–मान्यताविपरीत भएको उल्लेख गरेको छ ।
संघका अनुसार स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म र दोषीमाथि कानुनबमोजिम कडा कारबाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाइनेछ ।
चिकित्सकहरूको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित भएको छ भने आकस्मिक तथा अतिआवश्यक सेवाहरू भने यथावत सञ्चालनमा रहेका छन् ।
नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण काठमाडौं उपत्यकाका सरकारी अस्पतालको सेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन् ।
उपत्यकाका वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, सिभिल अस्पताल लगायतका अस्पतालले ओपीडी सेवा बन्द गरेका छन् । आकस्मिक तथा अतिआवश्यक सेवाबाहेक नियमित स्वास्थ्य सेवा प्रभावित भएको अस्पतालहरूले जनाएका छन् ।
ओपीडी सेवा बन्द भएपछि उपचारका लागि बिहानै अस्पताल पुगेका सयौं बिरामी सेवा नपाई निराश हुँदै घर फर्किन बाध्य भएका छन् । नियमित परीक्षण, फलोअप तथा नयाँ उपचारका लागि आएका बिरामीहरू आन्दोलनको प्रत्यक्ष मारमा परेका छन् ।
चिकित्सकहरूको आन्दोलनका कारण उपत्यकाका प्रमुख सरकारी अस्पतालमा बिरामीको चाप भए पनि उपचार सेवा प्रभावित हुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ ।