जाे कान्तिमा जाँच्दैनन्, निजीमा छोड्दैनन्

काठमाडौं । कान्ति बाल अस्पतालका कार्यकारी प्रमुख डा. पंकज रायले कान्ति बाल अस्पतालको बहिरंग विभागमा जँचाउन आएका बिरामीलाई नहेर्ने गरेको पाइएको छ ।

अस्पतालमा भेटिएका अधिकांश बिरामीका अभिभावकहरूले डा. रायको नाममा ओपिडीको टिकट दिइए पनि उनले बिरामी नजाँचेको गुनासाे गरेका छन् । 

अस्पताल प्रशासनले डा. राय दोहोरो जिम्मेवारीमा रहेका कारण नभ्याएर बिरामी नहेरेको हुन सक्ने जानकारी दिएकाे छ । 

अस्पतालका प्रवक्ता रामबन्धु शर्मा भन्छन्, ‘असाध्यै व्यस्त भएर नहेर्नू भएको होला । बिरामीका अभिभावकले भने जस्तो नहोला ।’

डा. रायले प्रशासनसमेत हेर्नुपर्ने भएको र मन्त्रालयमा हुने बैठकका कारण बिरामी हेर्न नसकेको हुनसक्ने उनी बताउँछन्।

यद्यपि डा. राय बिहान ७ देखि ९ बजेसम्म ह्याम्स अस्पतालको ओपीडीमा बिरामी हेर्दै आइरहेका छन् ।

सरकारी अस्पतालको नेतृत्व तहमा रहेका चिकित्सकले निजी अस्पताल वा स्वास्थ्य संस्थामा काम गर्न नपाउने व्यवस्था स्वास्थ्य मन्त्रालयको २०७७ सालको मन्त्रीस्तरीय निर्णयबाटै लागू गरिएको थियो । 

उक्त निर्देशनको अटेरी गर्दै डा. राय ह्याम्समा कार्यरत छन् ।

null

तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ साउन ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी चिकित्सकलाई निजी स्वास्थ्य संस्थामा कार्य गर्न रोक लगाउने नीति लिएको थियो । 

यद्यपि, उक्त व्यवस्था एकैपटक सबै सरकारी चिकित्सकमा लागू गर्न व्यावहारिक कठिनाइ देखिएपछि यसको कार्यान्वयन नेतृत्व तहमा रहेका चिकित्सकबाट सुरु गरिएको थियो ।

सोही निर्णय कार्यान्वयनका लागि मन्त्रालयले २०७७ साउन १२ गते स्वास्थ्य मन्त्रालय तथा मातहतका सबै निकाय, तत्कालीन प्रदेश सरकारअन्तर्गतका सामाजिक विकास मन्त्रालय, तथा स्थानीय तहअन्तर्गतका स्वास्थ्य निकायलाई परिपत्र गर्दै सरकारी अस्पतालका नेतृत्व तहका चिकित्सकलाई निजी अस्पतालमा काम गर्न नदिन निर्देशन दिएको थियो ।

हाल मन्त्रालयको नाम परिवर्तन भएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको भए पनि उक्त निर्णय औपचारिक रूपमा खारेज गरिएको छैन । 

त्यसैले सरकारी अस्पतालका प्रमुख तथा नेतृत्व तहका चिकित्सकको निजी अस्पतालमा संलग्नतासम्बन्धी विषय बेला बेलामा पुनः चर्चामा आउने गरेको छ ।

तर, डा. रायले ह्याम्समा नियमितरूपमा बिरामी हेरिरहेको पाइएको छ । उनी अस्पतालको प्रमुख बालरोग विशेषज्ञ रहेको ह्याम्स अस्पतालले जनाएको छ । 

यस विषयमा प्रतिक्रिया लिन पटक–पटक फोन गर्दा पनि डा. रायले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

Share News