कांग्रेस महाधिवेशन: सवारीसाधन पार्किङका लागि ८ स्थान तोकियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेता–कार्यकर्ताका सवारीसाधन पार्किङका लागि ८ स्थान तोकिएको यातायात व्यवस्थापन समितिले जनाएको छ ।

यातायात व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार धरहरा भूमिगत पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क, भृकुटीमण्डपको बाहिरी एक लेन, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान परिसर र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थलमा सवारीसाधन पार्किङ गर्न सकिनेछ ।

काठमाडौं उपत्यकाबाहिरबाट प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागमा पार्किङको व्यवस्था मिलाइएको स्वाँरले बताए । यसका लागि ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरिएको उनले जानकारी दिए ।

धरहरा भूमिगत पार्किङ र अन्नपूर्ण होटलको पार्किङमा शुल्क लाग्नेछ भने अन्य स्थानमा निःशुल्क पार्किङ गर्न सकिनेछ ।

कांग्रेसले प्रतिनिधि तथा नेता–कार्यकर्तालाई तोकिएका स्थानमै सवारीसाधन पार्किङ गर्न आग्रह गरेको छ । निर्धारित स्थानमा सवारीसाधन पार्किङ गर्दा सवारी आवागमन व्यवस्थापनमा सहज हुने कांग्रेसले जनाएको छ ।

Share News