इन्धन बचाउन थपिएको आइतबारको विद्यालय बिदा कहिलेसम्म ?

कामकाजी अभिभावक बढी मारमा, शिक्षा मन्त्रालय भन्छ : यो स्थायी निर्णय होइन

काठमाडौं । पेट्रोलियम पदार्थको सहज आपूर्ति र इन्धन खपत घटाउने भन्दै सरकारले थप गरेको आइतबारको सार्वजनिक बिदा लामो समयदेखि यथावत् छ । शनिबारसँगै आइतबारसमेत विद्यालय बन्द हुँदा यसको प्रत्यक्ष असर विद्यार्थी र अभिभावकमा परेको भन्दै गुनासो बढ्न थालेको छ । 

सरकारी कार्यालय वा बैंक तथा वित्तीय संस्थामा काम गर्ने अभिभावकका लागि दुई दिनको बिदा केही हदसम्म सहज भए पनि निजी क्षेत्रमा काम गर्ने, दैनिक ज्यालादारी गर्ने वा सातामा दुई दिन बिदा नपाउने अभिभावकका लागि भने यो अतिरिक्त जिम्मेवारी बनेको उनीहरूको गुनासो छ ।

‘सबै अभिभावक सरकारी कर्मचारी वा बैंकमा काम गर्ने होइनन् । निजी संस्था तथा दैनिक ज्यालादारीमा काम गर्ने अभिभावकले आफू काममा जानुपर्ने तर बच्चाको विद्यालय बन्द हुने अवस्था कसरी व्यवस्थापन गर्ने ?,’ नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोषबहादुर जिसीले प्रश्न गरे । 

उनका अनुसार विद्यालय बन्द भएको दिन बालबालिकालाई घरमा कसरी व्यस्त राख्ने भन्ने अर्को चुनौती पनि थपिएको छ । अभिभावक काममा गएको अवस्थामा बालबालिका लामो समयसम्म घरमै बस्दा मोबाइल, टेलिभिजन तथा अन्य गतिविधिमा बढी समय बिताउने अवस्था सिर्जना हुन सक्ने उनको भनाइ छ ।

‘बालबालिका दुई दिन घरमा बस्दा पढाइमा भन्दा अन्य कुरामा बढी समय बिताउने सम्भावना हुन्छ । विशेषगरी मोबाइलमा उनीहरूको सक्रियता बढ्न सक्छ,’ जिसीले भने ।

इन्धन बचाउने निर्णय, विद्यालयमा थपिएको बिदा

सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन तथा इन्धन खपत घटाउने उद्देश्यले आइतबार थप सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मध्यपूर्वमा देखिएको तनावका कारण इन्धन आपूर्तिमा समस्या देखिएपछि त्यसलाई व्यवस्थापन गर्ने अल्पकालीन रणनीतिका रूपमा सातामा एक दिन थप बिदा दिने निर्णय गरिएको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता वीरबहादुर धामी बताउँछन् । 

सरकारको निर्णय प्रदेश तथा स्थानीय तहका कार्यालय, सार्वजनिक निकायसँगै विद्यालयमा समेत लागू भयो । त्यसपछि विद्यालयमा शनिबार र आइतबार गरी सातामा दुई दिन बिदा हुन थालेको छ ।

तर, इन्धन बचाउने उद्देश्यले गरिएको निर्णयको असर विद्यालयमा भने इन्धन खपतमा मात्रै सीमित छैन । यसको प्रभाव बालबालिकाको पढाइ, अभिभावकको दैनिक जीवन र विद्यालयको शैक्षिक व्यवस्थापनसँग समेत जोडिएको अभिभावकहरूको भनाइ छ ।

दुई दिन बिदाले पढाइको समय घटाउँछ 

अभिभावक संघका अध्यक्ष जिसीको मुख्य चिन्ता विद्यालयको पठनपाठनमा पर्ने असर हो । उनका अनुसार विद्यालयमा दुई दिन बिदा थपिए पनि दैनिक कक्षा सञ्चालनको समय त्यसअनुसार बढाइएको छैन । 

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाको काम गर्ने समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने भए पनि विद्यालयमा भने कक्षा सञ्चालनको समय करिब बिहान १० बजेदेखि ४ बजेसम्मकै आसपास रहने गरेको उनी बताउँछन् । 

यसले वर्षभरि पढाउनुपर्ने पाठ्यक्रम पूरा गर्न विद्यालयमाथि दबाब बढाउने उनको तर्क छ ।

बिदाका कारण घटेको पढाइको समय पूर्ति गर्न विद्यालयले लामो बिदा कटौती गर्ने वा कक्षा सञ्चालनको समय व्यवस्थापन गर्ने प्रयास गरे पनि त्यसले नियमित सिकाइको गुणस्तरमा असर पर्न सक्ने अभिभावकहरूको चिन्ता छ ।

‘कक्षा सञ्चालनको समय घट्दा शिक्षकले विषयवस्तु बुझाउन पर्याप्त समय नपाउन सक्छन् । विद्यार्थीले अभ्यास र पुनरावृत्तिका लागि पाउने समय पनि घट्न सक्छ,’ जिसीले भने । 

उनका अनुसार शैक्षिक सत्रको अन्त्यतिर पाठ्यक्रम सकाउने दबाब बढ्दा शिक्षकले विषयवस्तु बुझाउनभन्दा पाठ्यक्रम पूरा गर्न बढी केन्द्रित हुनुपर्ने अवस्था आउन सक्छ । त्यसको असर विद्यार्थीको वास्तविक सिकाइमा पर्न सक्ने उनको भनाइ छ ।

कामकाजी अभिभावक बढी मारमा

विद्यालय बन्द हुने दुई दिनको अर्को पाटो अभिभावकको दैनिक जीवनसँग जोडिएको छ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शनिबार र आइतबार दुवै दिन बिदा हुने भएकाले आफ्ना बालबालिकासँग समय बिताउन केही सहज हुन सक्छ । 

तर, निजी क्षेत्रमा काम गर्ने, दैनिक ज्यालादारीमा निर्भर रहने वा सातामा एक दिन मात्रै बिदा पाउने अभिभावकका लागि विद्यालय बन्द हुने थप एक दिन व्यवस्थापनको समस्या बन्न सक्छ ।

अभिभावक काममा जानुपर्ने र बालबालिका विद्यालय जान नपाउने अवस्थामा उनीहरूको हेरचाह कसले गर्ने भन्ने प्रश्न उठेको छ ।

यही कारण अभिभावक संघले विद्यालयमा लागू भएको आइतबारको बिदा हटाउन सरकार तथा सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्दै आएको अध्यक्ष जिसीले बताए । 

तर, विद्यालयमा आइतबार बिदा दिने विषयमा अभिभावकको गुनासो बढे पनि विद्यार्थी, शिक्षक वा विद्यालय सञ्चालकबाट त्यति ठूलो दबाब नआएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालय भन्छ– ‘सिकाइमा असरबारे अध्ययन गरेका छैनौं’

आइतबारको बिदा शिक्षा मन्त्रालयले मात्रै गरेको निर्णय नभएको बताउँदै शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता धामी भने इन्धन आपूर्तिमा समस्या आएपछि यातायात तथा इन्धनको खपत घटाउन एक दिन कम गर्ने रणनीति अपनाइएको बताउँछन् । 

‘यो शिक्षा मन्त्रालयको एक्लो निर्णय होइन, नेपाल सरकारको निर्णय हो,’ धामीले भने । तर, दुई दिन विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा कस्तो प्रभाव परेको छ भन्ने विषयमा मन्त्रालयले छुट्टै अध्ययन भने छैन ।’ 

आइतबार विद्यालय बन्द हुँदा बालबालिकालाई घरमा व्यवस्थापन गर्न कठिन भएको, अभिभावक आफू काममा जानुपर्ने अवस्थामा बालबालिकालाई हेर्न समस्या भएको, उनीहरू मोबाइल तथा टेलिभिजनमा बढी समय बिताउने गरेको लगायतका गुनासो भने मन्त्रालयमा आएको उनको भनाइ छ । 

‘अभिभावकका आफ्नै दैनिक कठिनाइ पनि जोडिएका छन् । बच्चाहरू दिनभर घरमा हुँदा हेर्न गाह्रो भयो, आफू काममा जानुपर्ने भयो भन्ने गुनासो आएको छ,’ उनले भने ।

‘यो स्थायी निर्णय होइन’ 

प्रवक्ता धामीका अनुसार आइतबारको बिदा सधैंका लागि लागू हुने गरी शैक्षिक क्यालेन्डर बनाइएको छैन । इन्धन आपूर्ति तथा खपत व्यवस्थापनका लागि अपनाइएको यो अल्पकालीन रणनीति आवश्यक नरहने अवस्था आएमा सरकारले निर्णय परिवर्तन गर्न सक्ने उनको भनाइ छ ।

‘अहिले यसलाई अल्पकालीन औजार र रणनीतिका रूपमा बुझ्नुपर्छ । सधैंका लागि भनेर शैक्षिक क्यालेन्डर नै निस्किएको छैन,’ धामीले भने, ‘यो औजार प्रयोग नगर्दा हुने अवस्था आयो भन्ने विश्लेषण भयो भने सरकारले निर्णय गर्ला ।’

सरकारले यसलाई अझै पनि अल्पकालीन रणनीतिका रूपमा व्याख्या गरिरहेको छ । तर, इन्धन बचतका लागि सुरु गरिएको निर्णय विद्यालयका बालबालिका, शिक्षक र अभिभावकको दैनिकीसँग जोडिँदै गएपछि यसको प्रभावबारे तथ्यमा आधारित अध्ययन र पुनरावलोकनको माग भने बढ्दै गएको छ ।

Share News