सुनसरी घटनामा मानव अधिकार आयोगको चासो, शान्ति सुरक्षा मजबुत बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारलाई शान्ति सुरक्षा थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

आयोगले सोमबार (आज) विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको हो ।

आयोगले सामाजिक सद्भाव कायम राख्न पनि सबै पक्षलाई अपिल गरेको छ । 

शान्तिपूर्ण वार्ता र संवादमार्फत विवादको समाधान खोज्दै सामाजिक सद्भाव जोगाउने कार्यमा सहयोग गर्न राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

आयोगका अनुसार घटनाबारे कोशी प्रदेश कार्यालय, विराटनगरमार्फत प्रारम्भिक अनुगमन भइरहेको छ । 

प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयसँग घटनाबारे जानकारी लिने काम भइरहेको र मानव अधिकारको दृष्टिकोणबाट विस्तृत अनुसन्धानसमेत सुरु गरिएको आयोगले जनाएको छ ।

प्रारम्भिक अनुगमनका क्रममा पोलमा झण्डा राख्ने विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको, डिजे बजाउने क्रममा विवाद चर्किँदै झडपमा परिणत भएको तथा त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको पाइएको आयोगले उल्लेख गरेको छ ।

उक्त घटनामा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको गएराति नै मृत्यु भएको थियो भने आज थप एक जनाको मृत्यु भएको छ ।

Share News