अमेरिका पुगे अर्थमन्त्री वाग्ले, सोमबार उच्चस्तरीय भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् । उनी गएराति अमेरिकाको राजधानी वासिङ्टन डीसी पुगेका हुन् ।

वासिङ्टन डीसीमा अर्थमन्त्री वाग्लेलाई अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ ।

भेटवार्तामा नेपाल–अमेरिका आर्थिक साझेदारी तथा सहयोग अभिवृद्धि, नेपालको पुनर्निर्माण, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट नेपालको बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनःनिर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल हुनेछ ।

भ्रमणका क्रममा सडक, विद्युत् प्रसारण लाइनलगायत महत्त्वपूर्ण पूर्वाधारमा लगानी बढाउँदै नेपालमा रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइनेछ । 

विकास साझेदार तथा निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि पहल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का उच्चपदस्थ अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग पनि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Share News