बाल संरक्षण भत्तामा ३ लाख रुपैयाँ हिनामिना, पूर्व सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

औँठाछाप किर्ते गरी भत्ता हिनामिना

फोटो : एआई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको तत्कालीन भरतपुर गाउँ विकास समितिमा बाल संरक्षण भत्ताको रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०६८/६९ मा बाल संरक्षण भत्ताका लागि निकासा भएको तीन लाख सात हजार २०० रुपैयाँ लाभग्राहीलाई वितरण नगरी नक्कली भरपाई तयार गरी हिनामिना गरिएको अनुसन्धानबाट खुलेको छ । लाभग्राहीको नाममा अन्य व्यक्तिबाट औँठाछाप गराई सरकारी रकम दुरुपयोग गरिएको आयोगको दाबी छ ।

यस प्रकरणमा तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी, तत्कालीन कार्यालय सहायक उमाकान्त महतो र तत्कालीन जिल्ला विकास समिति महोत्तरीका सहायक लेखापाल सुरुज साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा बिगो असुलउपरको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Share News