डिजिटल नेटवर्कमा आबद्धताका आधारमा कांग्रेस मुलुककै ठूलो राजनीतिक दल : पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल नेटवर्कमा आबद्ध सदस्य संख्याका आधारमा नेपाली कांग्रेस मुलुककै सबैभन्दा ठूलो राजनीतिक दल बनेको दाबी गरेका छन् ।

बिहीबार आयोजित ‘बीपी स्मृतिमा जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन् ।

पार्टीका सबै क्रियाशील सदस्यको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गरिएको र अब प्रत्येक सदस्यलाई डिजिटल परिचयपत्र प्रदान गरिने उनले जानकारी दिए ।

उनका अनुसार अब केन्द्रीय कार्यालयले पार्टीका सूचना, निर्णय र निर्देशन डिजिटल नेटवर्कमार्फत सिधै सदस्यसम्म पुर्याउने व्यवस्था गरिएको छ । 

‘अब विज्ञापन गरेर सूचना दिनुपर्ने अवस्था रहनेछैन । नेतृत्वले हरेक सदस्यसँग प्रत्यक्ष संवाद गर्न सक्नेछ,’ उनले भने ।

पौडेलले डिजिटल प्रणालीमार्फत नेतृत्व र कार्यकर्ताबीच नियमित संवाद, पार्टीका रणनीति तथा दृष्टिकोण साझा गरिने उल्लेख गर्दै यसले संगठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।

उनले २०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा रहेका क्रियाशील सदस्यको संख्या आगामी असोजमा हुने १५औं महाधिवेशनसम्म पनि कायम रहने बताए । 

पुस १० गतेसम्म सदस्यता नवीकरण गरेका करिब ८० प्रतिशत सदस्यले आवश्यक विवरण अद्यावधिक गरिसकेको र नयाँ क्रियाशील सदस्यता वितरणको काम पनि जारी रहेको जानकारी दिए ।

महामन्त्री पौडेलले गगन थापाको नेतृत्वमा कांग्रेसलाई थप व्यवस्थित, सिर्जनशील र जनमुखी बनाउने अभियान अघि बढाइएको दाबी गरे । पार्टीले भुइँ तहका नागरिकका मुद्दालाई केन्द्रमा राखेर नयाँ अभियान सञ्चालन गर्ने उनले बताए ।

क्रियाशील सदस्यता वितरणमा कुनै बन्देज नरहेको उल्लेख गर्दै उनले १८ वर्ष उमेर पूरा गरी राजनीतिक दलको सदस्य बन्न योग्य जोसुकैले क्रियाशील सदस्यता लिन सक्ने बताए ।

युवाको नेतृत्व विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै पौडेलले ३५ वर्षमुनिका युवालाई महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय सदस्यसम्म पुग्ने अवसर सुनिश्चित गरिएको दाबी गरे । 

उनका अनुसार यही उमेर समूहबाट २१ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

Share News