संस्थापन इतरले मनायो वीपी स्मृति दिवस, तीन नेताले गरे उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बुधबार ४३औँ वीपी स्मृति दिवसका अवसरमा राजधानीमा विशेष स्मृति सभा आयोजना गर्दै पार्टीभित्र संवाद, सहमति र एकताको आवश्यकता औंल्याएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा समूहका शीर्ष नेताहरू निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि तीनै नेताले वीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य, राष्ट्रिय मेलमिलाप र समाज रूपान्तरणको सन्देशलाई प्रतीकात्मक रूपमा स्मरण गर्दै बिरुवामा पानी समेत हालेका थिए ।

यस वर्षको स्मृति सभा संवाद, सहमति र एकता आजको आवश्यकता भन्ने मूल नारासहित आयोजना गरिएको कांग्रेस नेताहरूले बताएका छन् । कार्यक्रममा कांग्रेसका नेताकार्यकर्ता, पूर्वपदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको छ । 

Share News