काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस् अभियान सञ्चालनमा ल्याएको छ । योजनाअनुसार अब हरेक दिन एक जना नेपाली लखपति बन्नेछन् भने प्रत्येक महिनामा दुई जनाले बम्पर पुरस्कारस्वरूप १०-१० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट एक सय रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गरी सक्कली बिल लिने उपभोक्ता यो योजनामा सहभागी हुन सक्नेछन् । नगद वा अनलाइन दुवै माध्यमबाट गरिएको भुक्तानीमा प्राप्त हुने बिल नम्बर नै लखपति छनोटको आधार हुनेछ ।
सरकारले उपभोक्तालाई हरेक खरिदमा सक्कली बिल लिन प्रोत्साहन गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले यो योजना ल्याएको हो ।
हालका लागि हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन (पाक्षिक रूपमा) विजेताको घोषणा गरिने व्यवस्था गरिएको छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको यस कार्यक्रमको कार्यान्वयनसम्बन्धी विस्तृत व्यवस्था कार्यविधिमा उल्लेख गरिएको अर्थमन्त्रालयले जनाएको छ ।