पूर्वाधार विकास मन्त्रालयका सचिव बने सहसचिव मैनाली, को हुन् उनी ?

काठमाडौं । सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सहरी विकास मन्त्रालयमा कार्यरत मैनालीलाई सचिवमा पदोन्नति गर्दै पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरिएको जानकारी दिएका हुन् ।

यसअघि सचिव बढुवा समितिको बैठकले उनलाई प्राविधिक सचिव पदका लागि सिफारिस गरेको थियो । 

सहरी विकास मन्त्रालयमा सात वर्षभन्दा बढी समय सहसचिवका रूपमा कार्यरत रहिसकेका मैनालीले सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।

शहरी विकास क्षेत्रको नीति निर्माण तथा कार्यान्वयनमा लामो अनुभव भएका उनले ‘राष्ट्रिय शहरी विकास रणनीति’ र ‘राष्ट्रिय सहरी नीति, २०७९’ को मस्यौदा तयार गर्न महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।

यसका साथै २०७२ सालको विनाशकारी भूकम्पपछि विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) तयार पार्न तथा आवास पुनर्निर्माण कार्यक्रमको अवधारणा विकासमा समेत उनको सक्रिय संलग्नता रहेको थियो । 

उच्च शिक्षातर्फ मैनालीले बेल्जियमको युनिभर्सिटी अफ लुभेनबाट आर्किटेक्चरमा स्नातकोत्तर तथा युरोपियन स्पेसियल प्लानिङमा स्नातकोत्तर तहको प्रमाणपत्र प्राप्त गरेका छन् ।

उनले बेलायतस्थित युनिभर्सिटी अफ न्युक्यासल अपन टाइनबाट विशेष प्रशिक्षणसमेत हासिल गरेका छन् । 

Share News