बौलाहा खोलामा मोटरेबल पुल निर्माण

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता-पूर्व) नवलपुरको देवचुली नगरपालिका-३ र देवचुली नगरपालिका-१२ लाई जोड्ने बौलाहा खोलामाथिको मोटरेबल पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । 

पुल सञ्चालनमा आएपछि वर्षायाममा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयवासीको वर्षौंदेखिको बाध्यता अन्त्य भएको हो ।

पैतालिस मिटर लामो उक्त पुल गण्डकी प्रदेश सरकारको लगानीमा ब्रर्दश-देवचुली जेभीले छ करोड ३० लाख ५८ हजार ६५२ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । 

विसं २०८१ मा निर्माण कम्पनीसँग विसं २०८३ जेठभित्र काम सम्पन्न गर्ने सम्झौता भएकामा तोकिएको समयमा सकिएर सञ्चालनमा आएको हो ।

करिब दुई वर्षअघि सम्झौता भई काम थालिएको पुल तोकिएको समयमा सम्पन्न भई सञ्चालनमा आएको देवचुली नगरपालिका-१२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेलले जानकारी दिए । 

उनका अनुसार पुल सञ्चालनमा आएपछि स्थानीयलाई आवतजावतमा सहजता भएको छ । विशेषगरी वर्षायाममा बौलाहा खोलामा पानीको बहाव बढ्दा विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणले सास्ती खेप्नुपर्ने अवस्था अब अन्त्य भएको उनको भनाइ छ ।

पुल सञ्चालनसँगै बेलचौतारी हुँदै देवचुली-१२ र देवचुली-३ बीच सुरक्षित, सहज र नियमित आवतजावत सम्भव भएको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार पुलले दुई वडाबीचको भौतिक सम्पर्क मात्र मजबुत बनाएको छैन, कृषि उत्पादनको ढुवानी, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्थानीय बजारसँगको सम्बन्धलाई समेत थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । 

यसले समग्र स्थानीय आर्थिक गतिविधि र विकासलाई गति दिने विश्वास गरिएको छ । देवचुली नगरपालिका-३ का वडाध्यक्ष होमनाथ पौडेलका अनुसार पुल निर्माणसँगै कावासोतीबाट रजहरसम्मको मुख्य राजमार्गको वैकल्पिक सडकका रूपमा पनि यो मार्ग प्रयोग गर्न सकिन्छ । 

पूर्व-पश्चिम राजमार्गमा कुनै अवरोध वा समस्या उत्पन्न भए भित्री सडकमार्फत यही पुल प्रयोग गरेर सहज रूपमा यात्रा गर्न सकिने उनले बताए ।

स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको यो पुल निर्माण सम्पन्न भएसँगै देवचुली नगरपालिकाको पूर्वाधार विकासमा नयाँ उपलब्धि थपिएको छ । 

स्थानीयले यसलाई दैनिक आवतजावत, आर्थिक गतिविधि विस्तार र विपद्का समयमा समेत महत्वपूर्ण पूर्वाधारका रूपमा लिएका छन् । पुल निर्माण भएसँगै बजार क्षेत्रमा सहज पुहँच विस्तार भएको स्थानीय पूर्णबहादुर थापाले बताए । 

Share News