काठमाडौं । कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधन भएको छ । कतार सरकारले आइतबार बिहान ७४ वर्षको उमेरमा उनको निधन भएको पुष्टि गरेको हो ।
सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व गरेका शेख हमदलाई आधुनिक कतारका प्रमुख शिल्पीमध्ये एक मानिन्छ ।
उनको शासनकालमा प्राकृतिक ग्यासबाट प्राप्त आम्दानीलाई प्रभावकारी रूपमा परिचालन गर्दै कतारले तीव्र आर्थिक विकास हासिल गरेको थियो र विश्वकै धनी राष्ट्रहरूमध्ये एकका रूपमा आफ्नो पहिचान स्थापित गरेको थियो।
उनकै नेतृत्वमा सन् १९९६ मा अल जजिरा अन्तर्राष्ट्रिय समाचार सञ्जाल स्थापना गरिएको थियो, जसले मध्यपूर्वको सञ्चार क्षेत्रमा नयाँ आयाम थपेको मानिन्छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार र राजधानी दोहाको आधुनिकीकरणमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको बताइन्छ ।
सन् १९९५ मा उनले रक्तपातविहीन सत्ता परिवर्तनमार्फत आफ्ना पिता शेख खलिफा बिन हमद अल थानीबाट शासनको बागडोर सम्हालेका थिए । त्यसपछि कतारले ऊर्जा, कूटनीति र अन्तर्राष्ट्रिय लगानीका क्षेत्रमा उल्लेखनीय प्रभाव विस्तार गरेको थियो ।
उनकै शासनकालमा कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गरेको थियो, जसले देशको अन्तर्राष्ट्रिय छवि थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।
सन् २०१३ मा उनले स्वेच्छाले सत्ता आफ्ना छोरा तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीलाई हस्तान्तरण गरेका थिए । खाडी क्षेत्रका राजतन्त्रमा स्वेच्छिक रूपमा सत्ता हस्तान्तरण गर्ने दुर्लभ उदाहरणमध्ये यो एक मानिन्छ ।
करिब ३० लाख जनसङ्ख्या रहेको कतार खाडी क्षेत्रको सानो राष्ट्रमध्ये एक हो । यहाँको अर्थतन्त्र मुख्य रूपमा प्राकृतिक ग्यास र तेल क्षेत्रमा आधारित छ भने जनसङ्ख्याको ठूलो हिस्सा विदेशी कामदारले ओगटेका छन् ।
कतार सन् १९७१ सम्म बेलायतको संरक्षित राज्यका रूपमा रहेको थियो । १९औं शताब्दीको मध्यदेखि नै अल थानी परिवारले यहाँको शासन गर्दै आएको छ ।