हुम्लामा अधिँया गर्थ्याे गणेशको परिवार, ऋण काढेर किनेका थिए बाइक

यात्रुको खोजीमा सडकमा निस्कने छैनन्

 

काठमाडौं । गणेश नेपालीको शव यतिखेर वीर अस्पतालमा छ । बिहीबार राहदानी विभाग परिसर अगाडि उनले आत्मदाह प्रयास गरेका थिए । शुक्रबार वीर अस्पतालले मुगुको सोरु गाउँपालिका– १ निवासी २५ वर्षीय नेपालीको मृत घोषणा ग¥यो । उनी परिवारसहित भक्तपुरमा बसोबास गर्दै आएका थिए । 

बागमती प्रदेश ०२–०६४ प ३२५० नम्बरको मोटरसाइकल गणेशको थियो । जीवन गुजार्न भनेर ऋण लिएर मोटरसाइक किनेका उनले नै अन्ततः गणेशको ज्यान लियो । राइडिङ सेयरका चालक नेपाली मोटरसाइकलको सहारामा जीवन गुजार्दै आएका थिए । काठमाडौंका सडकलाई सहारा बनाएर बाँचिरहेका गणेशलाई सडकले खोस्यो ।

गणेश घरमा परिवारको कान्छो छोरा थिए । दुई दाजुभाइसहित एक बहिनी र आमाबुबा परिवारमा थिए । गाउँको बाँझो जमिन छाडेर आमाबुबा जिल्ला र गाउँ छाडेका थिए । गणेशका परिवारमा गरिबीले नछाडेपछि र अन्न देख्न नपाउने भएपछि परिवारैले गाउँ छाडे ।

स्थायी ठेगाना मुगु भएको सोरु गाउँपालिका १ का अध्यक्ष धनकर्ण छत्यालले बताए । गणेशका परिवार यस गाउँपालिकाको वडामा कोही पनि बसोबास नगर्ने उनले जानकारी दिए ।

‘यहाँ बाँझो जमिन, सुख्खा तथा भीर पहिरो जाने जमिन छ । उनीहरुको जमिनमा केही पनि अन्न फल्दैन । बाँझो जमिन रूंगेर बस्न धेरै गाह्रो भएकाले यो ठाउँ छोडेर गएका हुन्,’ अध्यक्ष छत्यालले विकासन्युजसँग भने,’ हुम्लामा बहिनीसहित बाआमा बस्ने गरेका छन् । अरुकै अधियाँ खेती गरेर आफ्नो जिविका चलाइरहेका छन् ।’

गणेशको परिवार आर्थिक अवस्थामा गुज्रेको थियो । परिवारमा गरिबीको पहाड उक्लिदो थियो । सानैदेखि गणेशका दाइले गाउँको थातथलो छाडेर काठमाडौं आएका थिए ।

१५–१६ वर्षअघि नै उनका परिवारले मुगु छाडेका थिए । खण्डहर तथा मरुभूमी जस्तो जमिनलाई छाडेर सुख पाइने आशामा हुम्ला गएका थिए ।

हात र खुट्टा चलेसम्म जिउँने आशामा उनीहरू बुढा आमाबा हुम्लाका खेतीमा पुगे । छोराहरू घरका दुःख बिर्साउन काठमाडौं गएको अध्यक्ष छन्त्याल बताउँछन् । 

गाउँको घरजग्गा हेर्ने बेलामा मात्र गणेशको परिवार आउने गरेको उनको भनाइ छ । उनको मृत्युले पुरै गाउँ शोकमा डुबेको उनले सुनाए ।

गणेशको जीवन संघर्षले भरिएको थियो । उनले कृषितर्फ जुनियर टेक्निकल असिस्टेन्ट (जेटीए) पढेका थिए । उनले गाउँमै केही गर्ने सपना बुनेका थिए । उनी कृषि प्राविधिक बनेर गाउँमै सेवा गर्न चाहन्थे । 

गणेश पसिना, पौरख र ऊर्जाको प्रतिक थिए परिवारमा ।  उनको निधनपछि श्रीमतीको सहारा टुटेको छ, छोरी टुहुरो बनेकी छिन् ।

अब काठमाडौंका सडकमा गणेश भेटिने छैनन् । राइड सेयरिङमा उनको नम्बर देखिने छैनन् । यात्रुको खोजीमा काठमाडौंका सडकमा निस्कने छैनन् । साँझ, बिहान, घामपानीमा रेङकोट लगाएर सेवा दिने गणेश काठमाडौंका सडकमा देखिने छैनन् ।
 

Share News