काठमाडौं । गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्ने क्रममा भावुक बनेका छन् । आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि संसद्मा बोल्दै उनले घटनाले आफूलाई गहिरो रूपमा मर्माहत बनाएको बताए ।
संसद्को रोष्ट्रममा उक्लिएपछि केहीबेर उनी बोल्न नसकी भावुक बनेका थिए । आँखा रसाएपछि उनले केही क्षण आफूलाई सम्हाल्ने प्रयास गरे र त्यसपछि मात्रै आफ्नो धारणा राखे ।
गृहमन्त्री गुरुङले सरकारले गणेश नेपालीको ज्यान बचाउन अन्तिमसम्म प्रयास गरेको उल्लेख गर्दै उपचारका लागि रातभर सबै संयन्त्र परिचालन गरिएको बताए । ‘रातभर खटियौं, उपचारका लागि सबै प्रयास ग¥यौं। तर, दुर्भाग्यवश गणेशलाई बचाउन सकेनौं,’ उनले भने ।
उनले घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाउन आग्रह गर्दै जनताको सेवामा व्यवहारिक रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
‘संसद्मा ठूलो स्वरले बोल्दैमा मात्रै जनताको सेवा हुँदैन । जनताको पक्षमा बोलेको धेरै दशक भइसक्यो । अब काम गरेर देखाउनुपर्ने बेला आएको छ,’ उनले भने, ‘म यहाँ कसैलाई प्रभावित पार्न वा स्टन्ट गर्न आएको होइन । देश र जनताको सेवा गर्ने जिम्मेवारी पूरा गर्न आएको हुँ ।’
गृहमन्त्रीले घटनासँग जोडिएको ’ह्विल लक’ विवादबारे पनि स्पष्टिकरण दिएका छन् । उनका अनुसार गणेश नेपालीले प्रयोग गरिरहेको मोटरसाइकलमा नेपाल प्रहरीको ट्राफिकले होइन, काठमाडौं महानगरको नगर प्रहरीले ह्विल लक लगाएको थियो ।
‘घटना भएको स्थानमा ट्राफिक प्रहरीले ह्विल लक लगाएको होइन । त्यो नगर प्रहरीले गरेको हो,’ उनले भने, ‘स्थानीय सरकार र प्रदेश सरकार कसको नेतृत्वमा छन् भन्ने पनि सबैलाई थाहा छ । त्यसैले तथ्य नबुझी गृह मन्त्रालयमाथि मात्र दोषारोपण गर्नु उचित हुँदैन ।’
उनले केही सांसदले संसद्मा कडा अभिव्यक्ति दिएकोप्रति संकेत गर्दै पीडित परिवारको साथमा व्यवहारिक रूपमा उभिनुपर्ने आवश्यकता औंल्याए ।
‘हामी गृह मन्त्रालयमा बसेर पीडित परिवारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल गरिरहेका थियौं । अस्पतालमा पुगेर अवस्था बुझ्नेभन्दा संसद्मा ठूलो स्वरले बोल्ने प्रवृत्तिले समाधान दिँदैन,’ उनले भने, ‘पीडा अनुभूति गरेर काम गर्नुपर्छ । जनताको सेवामा लागेकालाई ‘स्टन्टबाजी’ को आरोप लगाउनु उचित होइन ।’
मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । शरीरको करिब ५५ प्रतिशत भाग जलेपछि उनको वीर अस्पतालस्थित बर्न सेन्टरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो ।
भक्तपुरमा परिवारसँग बस्दै आएका गणेश राइड–सेयरिङ एपमार्फत मोटरसाइकल चालकको रूपमा काम गर्दै आएका थिए । आफूले पार्किङमा राखेको मोटरसाइकल नगर प्रहरीले ह्विल लक गरी नियन्त्रणमा लिन खोजेपछि उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
गुरुङले गणेश नेपालीको आत्मदाह प्रकरणको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका छन् । उनले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको बताएका हुन् । उनले सरकारले निष्पक्ष छानबिन गरेर दोषीलाई कारवाही हुने बताए । उनले ती जना नगर प्रहरीलाई पनि नियन्त्रणमा लिइएको बताएका छन् ।