काठमाडौं । काठमाडौंको माकलबारीस्थित सडकमा गुडिरहेको गाडीमा अचानक अक्सिजन सिलिन्डर र अग्नि नियन्त्रक उपकरण (फायर एक्सटिंगजिगर) विष्फोट हुँदा पैदलयात्रीको मृत्यु भएको छ ।
शुक्रबार (आज) बिहान करिब १०: २० बजेको समयमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको बा.प्र. ०६- ००१ झ ००१७ नम्बरको गाडीमा दुर्घटना हुँदा ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर बाग्लुङ घर भएका माकलबारी थापाको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी पुष्टि गरे ।
प्रहरीका अनुसार काभ्रेको पनौतीस्थित नवज्योती अक्सिजनबाट अक्सिजन सिलिन्डर र अग्नि नियन्त्रक उपकरण लोड गरी सिन्धुपाल्चोक लैजाने क्रममा सो दुर्घटना भएको थियो ।
नेपाल मेडिकल कलेज पछाडि रहेको पञ्चकुमारी फार्मेसीबाट थप औषधी लोड गरी पाँचपोखरी प्राथमिक अस्पतालतर्फ जान लागेको उक्त गाडीमा रहेका दुई वटा फायर एक्स्टिङ्विसर र एउटा सानो अक्सिजन सिलिन्डर पड्किएका थिए ।
भट्टराईका अनुसार विष्फोटबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्कालै नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो । अस्पताल पुर्याउन साथ बिहान १०: ४६ मा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
चालक सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका- ४ का ४२ वर्षीय कृष्ण अधिकारी हुन् । प्रहरीको सम्पर्कमा रहेका भट्टराईले बताए ।
सवारी साधन घटनास्थलमै रहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।