निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे एमाले कार्यदलको बैठक आज

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ ।

पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बस्ने बैठकले निर्वाचन समीक्षाका निष्कर्ष, पार्टी संगठन सुदृढीकरण तथा पुनर्गठनसम्बन्धी प्राप्त सुझावमाथि छलफल गर्नेछ ।

यसअघि कार्यदलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन गर्न केन्द्र, प्रदेश र जिल्ला तहमा पार्टी पङ्क्तिका विभिन्न भेला तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । ती कार्यक्रमबाट प्राप्त सुझावलाई समेटेर आगामी कार्यदिशा तय गर्ने तयारीका साथ बैठक बस्न लागेको जनाइएको छ ।

यसअघि असार २० मा बस्ने सचिवालय बैठक मा पेश गर्ने गरी काम गरे पनि कार्यदलले काम सम्पन्न नगरेका कारण सचिवालय बैठक समेत बस्न सकेको छैन। कार्यदलले आफ्नो प्रतिवेदन पार्टी सचिवालयमा पेश गर्नेछ । सचिवालयमा गहन छलफलपछि केन्द्रीय समितिमा प्रस्तुत गरेर कार्यान्वयनमा लैजाने तयारीमा पार्टी रहेको छ ।

Share News