काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच भएको द्वन्द्वबारे फेरि टिप्पणी गरेका छन् ।
युक्रेनको राजधानी किएभमाथि रुसले गरेको आक्रमणबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा ट्रम्पले आफूले अहिलेसम्म आठवटा युद्ध रोक्न सफल भएको दाबी गरे ।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले भारत र पाकिस्तानबीचको द्वन्द्व पनि रोकेँ । अन्य धेरै मामिलामा पनि त्यस्तै गरेको छु । भारत र पाकिस्तानको अवस्था अत्यन्त खतरनाक बन्न सक्थ्यो। परमाणु युद्धको जोखिम थियो । पाकिस्तानका प्रधानमन्त्रीका अनुसार त्यसबाट चार करोड मानिसको ज्यान जान सक्थ्यो । सम्भवतः पाँच करोड मानिससमेत मारिन सक्थे ।’
‘दुवै देशले एकअर्काका ११ वटा विमान खसालेका थिए । अवस्था निरन्तर बिग्रँदै गएको थियो । चार दिनसम्म तनाव कायम रह्यो, त्यसपछि मैले त्यसलाई रोकेँ,’ उनले थपे ।
जुलाई ४ मा किएभमाथि भएको आक्रमणबारे ट्रम्पसँग प्रश्न सोधिएको थियो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पटक–पटक वार्ता भए पनि उनीमाथि कुनै दबाब परेको देखिएको छैन । सोही विषयमा ट्रम्प भन्छन्– ‘मलाई लाग्छ, पुटिनमाथि दबाब छ । उनी यो युद्ध अन्त्य गर्न चाहन्छन् र भोलोदिमिर जेलेन्स्की पनि युद्ध समाप्त गर्न चाहन्छन् । दुवै पक्षसँग हाम्रो निरन्तर संवाद भइरहेको छ । हामी यो युद्ध अन्त्य गराउन सफल हुन्छौं कि हुँदैन, हेर्न बाँकी छ । यो अत्यन्त दुःखद अवस्था हो ।’
उनले अन्त्यमा भनेका छन्, ‘मैले आठवटा युद्ध अन्त्य गराएको छु । मेरो विचारमा यो युद्ध त तुलनात्मक रूपमा अझ सजिलै अन्त्य हुनुपर्ने थियो, किनभने म दुवै नेतालाई चिन्छु । अन्य धेरै मामिलामा भने म सम्बन्धित नेताहरूलाई चिन्दिनथेँ ।