काठमाडौं । प्रहरीले इजरायलमा केयरगिभर रोजगारीमा पठाइदिने भन्दै ठगीमा परेका पीडितलाई जाहेरी दिन आग्रह गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआइबी) सूचना जारी गर्दै इजरायलको रोजगारीका नाममा ठगीमा परेकालाई यथाशीघ्र जाहेरी दरखास्त दिन आव्हान गरेको हो ।
ब्यूरोका अनुसार नेपाल सरकार र इजरायल सरकारबीचको सरकार–सरकार प्रक्रियाअन्तर्गत सन् २०२४ मा सञ्चालित केयरगिभर रोजगारीको परीक्षामा ३ हजार ४६१ जना उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका थिए ।
प्रतीक्षा सूचीमा रहेका युवाको वैदेशिक रोजगारीको तीव्र चाहना र बाध्यताको फाइदा उठाउँदै आपराधिक समूहले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिनजान रहेको भन्दै ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।
प्रतीक्षा सूचीमा रहेका १ हजार १५२ जनामध्ये पहिलो चरणमा १५६ जना युवालाई लक्षित गरी मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर तत्काल इजरायल पठाइदिने झुटो आश्वासन दिने गरेको प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नक्कली कागजातसमेत देखाएर पीडितबाट २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको भन्दै जाहेरी परेको ब्यूरोले जनाएको छ ।
ब्यूरोका अनुसार विमल पराजुलीको जाहेरीका आधारमा भरतप्रसाद चौलागाईंसहित चार जनाविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरतप्रसाद चौलागाईंसहित चार जनालाई पक्राउ परिसकेका छन् । यस प्रकरणमा विभिन्न किसिमले झुक्याई प्रतिवादीबाट ठगिएका अन्य पीडितलाई समेत यथाशीघ्र केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दरखास्त दिन प्रहरीले अनुरोध गरेको छ ।