काठमाडौं । महोत्तरीको बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गाको अंशबण्डाअनुसार नक्सा परीक्षण गरी संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा साहविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारको बर्दिवासस्थित कार्यालयमा परेको सूचना तथा उजुरीका आधारमा खटिएको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा साहले जग्गाको अंशबण्डाअनुसार नक्सा परीक्षण गरी त्यसका आधारमा नक्सा संशोधन गरिदिने काममा आलटाल गर्दै सेवाग्राहीलाई दुःख–हैरानी दिएको र घुस मागेको पुष्टि भएको अख्तियारको दाबी छ ।
अख्तियारले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख रुपैयाँ बिगो कायम गरेको छ ।
सोही ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।