चुनाव काठमाडौंमा, खर्च डलरमा

फिल्डभन्दा फेसबुकमा व्यस्त भएर हजारौं डलर खर्च

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उम्मेदवारहरूले मत माग्न सामाजिक सञ्जाललाई मुख्य प्रचार माध्यम बनाएका छन् । फेसबुकमा उम्मेदवार तथा उनीहरूका समर्थकका नामबाट गरिएको विज्ञापनमा ठूलो रकम खर्च भएको देखिएको छ ।

मेटाको एड लाइब्रेरीमा उपलब्ध विवरणअनुसार कांग्रेस महाधिवेशनसँग सम्बन्धित विभिन्न उम्मेदवार, समर्थक तथा उनीहरूसँग जोडिएका पेजबाट फेसबुकमा विज्ञापन गरिएको छ । कतिपय उम्मेदवारले प्रचारप्रसारका लागि सयौं डलर खर्च गरेका छन् । 

पछिल्लो सात दिनको तथ्यांक विवरण हेर्दा नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार नैनसिंह महरले ४१४ डलर खर्च गरेका छन् । उनले यो अवधिमा १९ वटा प्रचार सामग्री राख्दै सो रकम खर्च गरेका हुन् । त्यसअघि भने उनले साढे तीन हजार डलर खर्च गरेको मेटाको विवरणमा उल्लेख छ । 

महामन्त्रीकै अर्का उम्मेदवार सुनिल शर्माले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत राम्रै प्रचारप्रसार गरेको देखिन्छ । उनले पछिल्लो एक सातामा चार पटक प्रचार सामग्री राखेर सय डलर खर्च गरेका छन् । 

पार्टीको उपसभापतिका उम्मेदवार सुरेन्द्रराज पाण्डेले पनि सामाजिक सञ्जालबाट प्रचारप्रसारमा सक्रिय बनेका छन् । उनले पनि पछिल्लो एक सातामा सात वटा प्रचार प्रसार सामग्री बुष्ट गरेर डलर खर्च गरेको देखिन्छ । 

त्यस्तै सुनीलकुमार शर्माको नामबाट ४ वटा विज्ञापन, जीवन कार्कीका नामबाट १, सुमन तिवारीका नामबाट २ र महामन्त्री उदयशमशेर राणाको नामबाट १ वटा विज्ञापन चलाइएको देखिन्छ । यी सबैको खर्च १०० डलरभन्दा बढी रहेको  मेटा एड लाइब्रेरीको विवरणमा उल्लेख छ ।

त्यसैगरी अविनाश भट्टराईका नामबाट ९ वटा, सुरेन्द्रराज पाण्डेका नामबाट ७ वटा, विद्यासागर लामाका नामबाट १० वटा, शेषकान्त पुरी सचिवालयका नामबाट ५ वटा र प्रकाशचन्द्र परियार सचिवालयका नामबाट २ वटा विज्ञापन चलाइएको विवरणमा देखिन्छ ।

मेटाको विवरणमा दीपक जी, रामधोज लामा, इन्जिनियर भुवन भट्ट, अनुराग खड्का, भानुभक्त गैरे, मेघराज थापा, महेश कर्माचार्यलगायतका नामबाट पनि विज्ञापन सञ्चालन भएको उल्लेख छ । 

कतिपय विज्ञापन भने उम्मेदवारको प्रत्यक्ष नामभन्दा समर्थक वा सचिवालयका नामबाट सञ्चालन गरिएको देखिन्छ । त्यस्ता विज्ञापनमध्ये धेरैको खर्च १०० डलर वा त्यसभन्दा कम रहेको विवरणमा उल्लेख छ ।

विशेषगरी कांग्रेसको यसपटकको महाधिवेशनमा डिजिटल प्रचारलाई प्राथमिकता दिइएको छ । कांग्रेसले महाधिवेशनमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायतका भौतिक प्रचार सामग्रीमा रोक लगाउँदै सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट प्रचार गर्न अनुमति दिएको छ ।

उम्मेदवारी दर्ता सकिएसँगै कांग्रेसमा प्रचार अभियान पनि तीव्र बनेको छ । महामन्त्रीमा नैनसिंह महर, सुनीलकुमार शर्मा, शंकर तिवारी, प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणालगायत प्रतिस्पर्धामा छन् ।

सहमहामन्त्रीका उम्मेदवार मान बहादुर नेपालीले पनि फेसबुक प्रचारप्रसारमा तीव्रता दिएका छन् । उनी दलिततर्फ सहमहामन्त्रीको उम्मेदवार बनेका छन् । उनीसँग प्रकाश रसाइली स्नेही र नरेन्द्र पासवान प्रतिस्पर्धामा छन् । 

Share News