काठमाडौं । नेपाली कांग्रेसको झन्डै आठ दशक लामो इतिहासमा नेतृत्व परिवर्तनसँगै पार्टीभित्र तीव्र शक्ति संघर्ष, विभाजन, पुनःएकीकरण र वैचारिक रूपान्तरण हुँदै आएको छ ।
कांग्रेसको सर्वोच्च नेतृत्वमा पुगेका केही नेता जीवनको उत्तरार्द्धमा पार्टीबाट अलग भए, केहीले छुट्टै राजनीतिक संगठन बनाए भने केही नेता नेतृत्वसँग गम्भीर मतभेदका बाबजुद कांग्रेसकै मूलधारमा रहेर राजनीतिक जीवन टुंग्याएका पाइएको छ ।
कांग्रेसको आधिकारिक अभिलेखअनुसार २००६ चैत २७ मा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएपछि नेपाली कांग्रेसको औपचारिक राजनीतिक यात्रा सुरु भएको हो ।
त्यसपछि मातृकाप्रसाद कोइराला, बीपी कोइराला, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा कांग्रेसको सभापति बने । २०८२ को विशेष महाधिवेशनपछि गगनकुमार थापा वर्तमान सभापति छन् । तर कांग्रेसको प्रारम्भिक इतिहासलाई यही सूचीले मात्र समेट्दैन ।
२००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसको पहिलो महाधिवेशनले जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापति चयन गरेको थियो भने बीपी कोइराला कार्यवाहक सभापति थिए । त्यसपछि मातृकाप्रसाद कोइराला र डिल्लीरमण रेग्मीले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
त्यसैले टंकप्रसाद आचार्य र डा. डिल्लीरमण रेग्मीलाई नेपाली कांग्रेसका औपचारिक पूर्वसभापतिको सूचीमा राख्नु भन्दा कांग्रेसको पूर्वरूप नेपाली राष्ट्रिय कांग्रेसको प्रारम्भिक नेतृत्वका रूपमा बुझ्नु ऐतिहासिक रूपमा बढी सटीक हुने कांग्रेसको इतिहासका जानकार उपप्राध्यापक डा. जगत नेपालले जानकारी दिए ।
संस्थापक सभापतिबाट पहिलो ठूलो विभाजनसम्म
कांग्रेसको औपचारिक पूर्वसभापति सूचीमा मातृकाप्रसाद कोइराला पहिलो नाम हुन् । कांग्रेसले उनलाई आफ्नो संस्थापक सभापतिका रूपमा अभिलेखित गरेको छ । उनी २००६ चैतदेखि २००९ जेठसम्म सभापति रहे ।
तर मातृकाको कांग्रेस यात्रा नेतृत्वबाटै बाहिरिएर टुंगियो । बीपी कोइराला सभापति बनेपछि पार्टी र सरकार सञ्चालनको विषयमा मातृकासँग मतभेद बढ्दै गयो । २००९ सालमा कांग्रेसबाट निलम्बित भएपछि मातृकाको सभापतित्वमा छुट्टै तदर्थ समिति गठन भयो । त्यसको अर्को वर्ष राष्ट्रिय प्रजा पार्टी गठन गरियो । डा. नेपालका अनुसार यसलाई कांग्रेस इतिहासको पहिलो ठूलो विभाजनका रूपमा लिइन्छ ।
मातृकाको प्रसंगले कांग्रेसको प्रारम्भिक इतिहासमा एउटा महत्त्वपूर्ण प्रश्न स्थापित गरेको डा. नेपालको मत रहेको छ । उनी भन्छन्, ‘पार्टी निर्माणमा योगदान दिएका शीर्ष नेता र संस्थागत नेतृत्वबीच मतभेद हुँदा अन्तिम गन्तव्य पार्टीभित्रै हुन्छ कि अलग राजनीतिक संगठन बनाउने भन्ने प्रश्न अहिले पनि जीवन्त रहेको छ ।’
बीपी र सुवर्ण, संघर्षभित्रै टिकेको नेतृत्व
मातृकापछि बीपी कोइराला कांग्रेसको सभापति बने । कांग्रेसको आधिकारिक अभिलेखअनुसार उनी २००९ जेठदेखि २०३९ साउनसम्म सभापति रहे र आफ्नो जीवनको अन्तिम समयसम्म कांग्रेसको नेतृत्वसँग जोडिए ।
डा. नेपालका अनुसार पञ्चायतकालमा जेल, निर्वासन र राजनीतिक प्रतिबन्ध भोगेपनि बीपी कांग्रेसबाट अलग भएनन् । बरु पार्टीलाई प्रजातान्त्रिक संघर्षको मुख्य राजनीतिक शक्तिका रूपमा अघि बढाउने श्रेय बीपीलाई जाने अर्का इतिहासविद प्रा.डा. राजेश गौतमको बुझाइ रहेको छ ।
सुवर्णशमशेर पनि कांग्रेसका संस्थापक तथा प्रारम्भिक शीर्ष नेतामध्येका एक थिए । प्रा. गौतमका अनुसार कांग्रेसको गठनमा उनको निर्णायक भूमिका थियो । बीपीसँगको राजनीतिक मतभेदका बाबजुद उनी कांग्रेसको मूल संगठनबाट स्थायी रूपमा अलग राजनीतिक बाटोमा गएनन् ।
गौतमका अनुसार उनले मातृकाको बाटो रोजेनन् । यसरी कांग्रेसको पहिलो पुस्तामै दुई प्रकारको उदाहरण देखिने डा. नेपालले बताए । उनका अनुसार मातृका पार्टीबाट अलग भए, तर बीपी र सुवर्ण कांग्रेसकै राजनीतिक धारमा रहिरहे ।
सभापति नभए पनि पार्टी छाड्ने सर्वोच्च नेता
कांग्रेसबाट अलग भएका नेताको चर्चा गर्दा गणेशमान सिंहलाई छुटाउन मिल्दैन । उनी कांग्रेसका सभापति थिएनन् । पार्टीले उनलाई सर्वोच्च नेताका रूपमा सम्मान गरेको थियो । कांग्रेसको आधिकारिक इतिहासले उनलाई संस्थापक नेतामध्येमा समेटेको छ ।
२०४८ सालको निर्वाचनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यशैलीप्रति गणेशमानको असन्तुष्टि बढ्दै गयो । पार्टीभित्रको गुटबन्दी, सरकारका निर्णय, टनकपुर सम्झौता र प्रतिनिधिसभा विघटनलगायत विषयमा उनले सार्वजनिक रूपमा असहमति जनाउँदै आए । अन्ततः २०५१ भदौ ३१ मा उनले कांग्रेस परित्याग गरेको औपचारिक घोषणा गरे ।
राजनितिशास्त्रका जानकार परसुराम घिमिरेका अनुसार यो कांग्रेस इतिहासको असामान्य घटना थियो । पार्टीको स्थापनादेखि प्रजातान्त्रिक संघर्षको अग्रभागमा रहेका सर्वोच्च नेताले नै पार्टीको मूल नेतृत्वसँग असहमति राखेर बाहिरिने निर्णय गर्नु नेपाली राजनीतिको एउटा महत्त्वपूर्ण घटना भएको घिमिरेले बताए ।
किसुनजी, सभापतिबाट अलग राजनीतिक धारसम्म
भट्टराई कांग्रेसका संस्थापक नेतामध्ये एक तथा पूर्वसभापति हुन् । २०४६ को जनआन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरेका भट्टराई कांग्रेसको आठौं महाधिवेशनबाट सभापति बने ।
तर २०४८ पछि कांग्रेसभित्र गिरिजाप्रसाद कोइराला र भट्टराईबीचको शक्ति संघर्ष तीव्र भयो । सरकार सञ्चालन, पार्टी संगठन र नेतृत्वशैलीका विषयमा विवाद बढ्दै जाँदा गणेशमान सिंह र भट्टराई एकातिर तथा गिरिजाप्रसाद कोइराला अर्कोतिर देखिने अवस्था बनेको घिमिरेले जानकारी दिए । २०५० को दशकमा यो विवाद कांग्रेसको सबैभन्दा ठूलो आन्तरिक संकटमध्ये एक बनेको उनको धारणा छ ।
घिमिरेले भने, ‘यसै कारण कांग्रेसको इतिहासमा गणेशमान र भट्टराईको अन्तिम राजनीतिक अवस्थालाई एउटै फ्रेममा हेर्ने गरिन्छ । दुवै शीर्ष संस्थापक नेताले पार्टीभित्रको नेतृत्वसँग गम्भीर मतभेद राखे र जीवनको उत्तरार्धमा कांग्रेसको मूल संगठनबाट टाढिए ।’
पछिल्लो राजनीतिक विश्लेषणमा पनि उनीहरूलाई जीवनको अन्तिम समयमा कांग्रेसबाट अलग भएका नेताका रूपमा उल्लेख गरिएको घिमिरेले जानकारी दिए ।
गिरिजा र सुशील, संघर्षका नेता
राजनीतिशास्त्रका उपप्राध्यापक अर्जुनध्वज अर्यालका अनुसार गिरिजाप्रसाद कोइरालाको नेतृत्वकाल कांग्रेसभित्र सबैभन्दा तीव्र शक्ति संघर्षको समयमध्ये एक रह्यो । तर उनी स्वयं भने पार्टीबाट अलग भएनन् । कांग्रेसको आधिकारिक अभिलेखअनुसार उनी २०५२ फागुनदेखि २०६६ चैतसम्म सभापति रहे र सभापतिकै पदमा रहँदा उनको निधन भयो ।
सुशील कोइराला पनि कांग्रेसको मूल संगठनबाट अलग भएनन् । उनी २०६७ सालको १२औं महाधिवेशनबाट सभापति बने र आफ्नो राजनीतिक जीवन कांग्रेसकै नेतृत्वमा बिताएको अर्यालले बताए ।
देउवाले पार्टी फुटाए
कांग्रेस सभापतिहरूमा शेरबहादुर देउवाको प्रसंग भने अलग प्रकृतिको छ । २०५९ सालमा कांग्रेस विभाजन गरेर उनले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे र त्यसको सभापति बने । तर यो विभाजन स्थायी रहेन । २०६४ सालमा कांग्रेस र कांग्रेस प्रजातान्त्रिक एकीकृत भएपछि देउवा मूल कांग्रेसमै फर्किए ।
त्यसपछि उनी २०७२ र २०७८ को महाधिवेशनबाट लगातार दुईपटक कांग्रेस सभापति बने । कांग्रेसको आधिकारिक अभिलेखमा उनी पूर्वसभापतिका रूपमा अभिलेख छन् । देउवालाई कांग्रेस छाडेका नेताभन्दा कांग्रेस विभाजन गरेर पुनः मूल पार्टीमै फर्किएका सभापति भनिए पनि देउवा हाल सन्चालनमा रहेको १५ औं महाधिवेशनमा सहभागी छैनन् ।
बरु समानान्तर अर्को १५ औं महाधिवेशनको तयारी देउवावाटै भएको उपप्राध्यापक अर्याल बताउँछन् ।
विभाजन र पुनर्मिलनको चक्र
कांग्रेसको नेतृत्वकामे इतिहास हेर्दा पार्टी छाड्ने शीर्ष नेताको संख्या सीमित देखिए पनि नेतृत्व संघर्षको इतिहास लामो भएको डा. नेपालको मत रहेको छ ।
उनका अनुसार मातृकाप्रसाद कोइरालाले कांग्रेसबाट अलग भएर छुट्टै राजनीतिक संगठन बनाए । गणेशमान सिंहले सर्वोच्च नेता हुँदाहुँदै कांग्रेस परित्याग गरे । कृष्णप्रसाद भट्टराई पनि जीवनको उत्तरार्धमा कांग्रेसको औपचारिक संगठनबाट अलग भए ।
त्यसको विपरीत बीपी कोइराला, सुवर्णशमशेर राणा, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला कांग्रेसको मूल राजनीतिक धारबाट अलग भएनन् । शेरबहादुर देउवाले भने पार्टी विभाजन गरे अन्ततः मूल कांग्रेसमै फर्किए । र, फेरि विभाजनको तयारीमा रहेका छन् ।
उपप्राध्यापक अर्यालका अनुसार यसरी हेर्दा कांग्रेसको इतिहास केवल को सभापति भयो भन्ने सूची होइन । यो नेतृत्वसँग असहमति हुँदा नेताले रोजेको बाटोको इतिहास पनि हो । उनका अनुसार कसैले पार्टीभित्रै संघर्ष गरे, कसैले अलग संगठन बनाए, कसैले विभाजनपछि पुनःएकीकरण रोजे र कसैले जीवनको अन्तिम चरणमा पार्टी सदस्यतासमेत त्यागे ।
आज कांग्रेसको नेतृत्व गगनकुमार थापासम्म आइपुग्दा यो इतिहास फेरि सान्दर्भिक भएको अर्याल बताउँछन् । नेतृत्व परिवर्तनसँगै पार्टीको विचार, संगठन र पुस्तान्तरणको बहस चलिरहँदा कांग्रेसका अघिल्ला पुस्ताको अनुभवले एउटा तथ्य देखाएको उनको मान्यता छ । अर्यालका अनुसार कांग्रेसमा नेतृत्व परिवर्तन नयाँ कुरा होइन । तर नेतृत्वसँगको असहमतिको अन्तिम परिणाम सधैं एउटै पनि भएको छैन ।