काठमाडौं । दुर्घटना, रोग वा अन्य कारणले हातखुट्टा तथा शरीरका अन्य अङ्ग गुमाएका व्यक्तिका लागि अत्याधुनिक एआई (कृत्रिम बौद्धिकता) प्रविधियुक्त कृत्रिम अङ्ग नेपालमै उपलब्ध भएको छ ।
भारतीय कम्पनी पी एन्ड ओले आफ्नो नेपाली साझेदार कम्पनी रिजोइस एन्ड रिलिफ प्रालिसँगको सहकार्यमा नेपालमा पहिलोपटक एआई सेन्सरयुक्त तथा रोबोटिक प्रविधिमा आधारित कृत्रिम अङ्गको सेवा सुरु गरेको जनाएको छ ।
रिजोइस एन्ड रिलिफ प्रालिका अध्यक्ष कृष्णराज गैरेका अनुसार नेपालमा यसअघि सामान्य कृत्रिम हातखुट्टा उपलब्ध भए पनि कृत्रिम बौद्धिकता र सेन्सर प्रविधिमा आधारित उन्नत कृत्रिम अङ्ग पहिलोपटक उपलब्ध गराइएको हो ।
कम्पनीका निर्देशक डा. नीरज सक्सेनाका अनुसार यस्ता कृत्रिम अङ्गमा जडान गरिएका स्मार्ट सेन्सरले प्रयोगकर्ताको मांसपेशी तथा स्नायुद्वारा आउने सङ्केतलाई पहिचान गरी अङ्ग सञ्चालन गर्न सहयोग गर्छन् । कम्पनीले आफूहरू एआई प्रविधि, ओसियोइन्टिग्रेसन, रोबोटिक हात तथा इन्टेलिजेन्ट सेन्सरयुक्त कृत्रिम अङ्गको क्षेत्रमा काम गरिरहेको जनाएको छ ।
उनका अनुसार कृत्रिम हात वा खुट्टा शरीरमा जडान गरेपछि त्यसमा रहेका सेन्सरले प्रयोगकर्ताको न्युरो–मस्कुलर प्रणालीबाट प्राप्त सङ्केतलाई विश्लेषण गर्छन् । त्यसपछि एआई प्रणालीले ती सङ्केतलाई बुझेर हात खोल्ने, बन्द गर्ने, वस्तु समात्ने, हिँड्ने वा सन्तुलन कायम गर्ने जस्ता गतिविधिमा सहयोग पुर्याउँछ ।
विशेषगरी मायोइलेक्ट्रिक प्रविधिमा आधारित कृत्रिम हातले मांसपेशीबाट उत्पन्न हुने विद्युतीय सङ्केतका आधारमा काम गर्ने भएकाले प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार विभिन्न गतिविधि गर्न सक्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार नेपालमा उपलब्ध गराइएका सेवाअन्तर्गत माथिल्लो तथा तल्लो अङ्गका कृत्रिम हातखुट्टा, मायोइलेक्ट्रिक हात, रोबोटिक तथा मल्टी–आर्टिकुलेटिङ हात, कृत्रिम औँला, बालबालिकाका लागि विशेष कृत्रिम अङ्ग तथा खेलकुदका लागि प्रयोग हुने उन्नत कृत्रिम खुट्टासमेत रहेका छन् ।
यस्ता कृत्रिम अङ्ग जडान गर्नुअघि बिरामीको स्वास्थ्य अवस्था, अङ्ग काटिएको भाग, शारीरिक बनावट तथा आवश्यकताको विस्तृत मूल्याङ्कन गरिने डा. सक्सेनाले जानकारी दिए । त्यसपछि थ्रीडी स्क्यानिङ तथा डिजिटल मापन गरेर व्यक्तिगत रूपमा मिल्ने सकेट तयार गरी कृत्रिम अङ्ग जडान गरिन्छ। जडानपछि प्रयोगकर्तालाई विशेष तालिमसमेत प्रदान गरिन्छ ।
डा. सक्सेनाले भारतीय सेनाका घाइते सैनिक तथा अङ्ग गुमाएका व्यक्तिलाई समेत कम्पनीले उन्नत कृत्रिम अङ्ग उपलब्ध गराउँदै आएको जानकारी दिए। कम्पनीले सन् १९९० को दशकदेखि कृत्रिम अङ्ग तथा अर्थोटिक सेवामा काम गर्दै आएको जनाएको छ ।
विज्ञहरूका अनुसार एआई र सेन्सरयुक्त कृत्रिम अङ्गले प्रयोगकर्तालाई दैनिक जीवनमा बढी स्वतन्त्र बनाउन, आत्मविश्वास बढाउन तथा रोजगार र सामाजिक गतिविधिमा सक्रिय हुन महत्त्वपूर्ण सहयोग पुर्याउन सक्छ । पछिल्ला अध्ययनहरूले स्पर्श तथा सेन्सरमा आधारित फिडब्याक प्रणालीले कृत्रिम अङ्ग प्रयोगकर्ताको नियन्त्रण क्षमता र कार्यसम्पादनमा सुधार ल्याउने डा. सक्सेनाले जानकारी दिए ।