काठमाडौं । कैलालीमा वनका कर्मचारीले टेम्पो भिरबाट खसालेको घटनामा दुई कर्मचारीविरुद्ध मुद्दा चलेको छ।
प्रहरीले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध शान्ति विरुद्धको कसुरमा मुद्दा चलाएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, कैलालीले उनीहरूलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सार्वजनिक स्थानमा शान्ति भंग गरेको कसुरमा मुद्दा चलाउन अनुमति दिएको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले पक्राउ गरिएका वनका १२ जना कर्मचारीमध्ये दुई जनाविरूद्ध मुद्दा दर्ता गरी बाँकी १० जनालाई रिहा गरिएको जानकारी दिए ।
पीडितको जाहेरीका आधारमा दुई जनाविरूद्ध मुद्दा चलाइएको उनको भनाइ छ ।
गत शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्गअन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भिरबाट धकेलेर खसालेका थिए ।
धामीले आफ्नो घर नजिकै भीमदत्त राजमार्गको गाईमारे डाँडाको सडक किनारमा टेम्पो राखी पानी, चाउचाउ, बिस्कुट, अण्डा लगायतका वस्तु बिक्री गर्दै आएकी थिइन्।
सडक किनारमा बसेर वन क्षेत्र अतिक्रमण गरी व्यापार गर्न नपाइने भन्दै वनका कर्मचारीले धामीको टेम्पो भिरबाट खसालिदिएका थिए ।
उक्त घटनाको सामाजिक सञ्जालहरूमा आलोचनासमेत भएको थियो। त्यसपछि प्रहरीले टेम्पोधनी महिलासँग सोधपुछ पनि गरेको थियो ।