काठमाडौं महानगरले बाइक एम्बुलेन्स सेवा सुरू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरले साँघुरा सडक र निरन्तर बढ्दो सवारी चापलाई ध्यानमा राख्दै ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालन गर्ने योजना अघि सारेकाे हाे । 

नीतिअनुसार महानगरले हाल सञ्चालनमा रहेको निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिने मात्र होइन, दुर्गम र भीडभाडयुक्त स्थानमा छिटो स्वास्थ्य सेवा पुर्याउन बाइक एम्बुलेन्सलाई समेत प्रयोगमा ल्याउने उल्लेख छ ।

नगरसभाको १९औंअधिवेशनको पहिलो बैठकमा कार्यबाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य सेवालाई समयानुकूल र प्रविधिमैत्री बनाइने बताइन् । उनका अनुसार शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको क्षमता विस्तार गरी आधुनिक सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ ।

स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि आयुर्वेद, योग, व्यायाम, प्राणायाम, ध्यान तथा वैकल्पिक चिकित्सा जस्ता कार्यक्रमलाई समेत विस्तार गर्ने नीति लिइएको छ । यसले नागरिकको शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

महानगरले मिर्गौला रोगीका लागि डायलाइसिस सेवाको विस्तार र सुदृढीकरण गर्ने योजना पनि अघि सारेको छ । त्यसैगरी मातृशिशु तथा प्रजनन स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्दै नयाँ कार्यक्रम सञ्चालन गरिनेछ ।

सार्वजनिक स्थानमा स्तनपान कक्ष स्थापना र व्यवस्थापनलाई समेत व्यवस्थित बनाइने भएको छ । महानगरभित्र रहेका अस्पताल तथा स्वास्थ्य संस्थाको नियमित अनुगमन र नियमन गरी गुणस्तरीय सेवा सुनिश्चित गर्ने नीति लिइएको छ ।

विपन्न तथा असहाय नागरिकका लागि १० प्रतिशत निःशुल्क उपचारको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ । यसका साथै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न महानगर अस्पताल निर्माणको तयारी पनि गरिएको छ ।

मानसिक स्वास्थ्य समस्याको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मनोपरामर्श सेवा र ‘कल सेन्टर’ सञ्चालन गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ । ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य शिविर तथा स्वास्थ्य संस्थासँग सहकार्यमा विशेष सेवा प्रदान गरिने महानगरले जनाएको छ ।

Share News