काठमाडौं महानगर छात्रवृत्तिमा ३ हजार ५१ विद्यार्थी भर्ना, दोस्रो म्याचिङ जारी

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ लिस्टबाट ३ हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन् । 

शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीमध्ये छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट मनोनयन सूची (म्याचिङ लिस्ट) मा परेका ३ हजार ७३५ विद्यार्थी  रहेका कामपा शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिए । 

यसरी भर्ना हुने विद्यार्थीमध्ये एक हजार ९०१ जना विज्ञान विषयमा, व्यवस्थापनमा एक हजार १११ जना, कानुनमा ३४ जना  मानविकीमा पाँच जना विद्यार्थी छन् । विद्यालयहरूले भर्ना भएका विद्यार्थीको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा आज परीक्षा समितिले म्याचिङ लिस्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन भएको खड्काले बताए । 

सदस्य सचिव खड्काका अनुसार दोस्रो सूचीमा विज्ञान विषयका लागि ३२३ जना, व्यवस्थापन विषयका लागि १४५ जना, कानुनका लागि १५ जना, मानविकीमा लागि एक जना र शिक्षाका लागि दुई जना विद्यार्थीको नाम सिफारिस भएको छ । 

विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको सिट सङ्ख्याका आधारमा जेठ २२ गतेको परीक्षा समितिको निर्णयअनुसार सूची प्रकाशन गरिएको हो । 

मनोनयनमा परेका परीक्षार्थीहरूले कामपाको छात्रवृत्तिसम्बन्धी पोर्टल इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपी मा छात्रवृत्ति परीक्षाको रोल नम्बर (कामपाबाट  प्रदान गरिएको), जन्म मिति र पासवर्ड (मोबाइल वा इमेलमा प्राप्त) प्रयोग गरेर मनोनयन पत्र प्रिन्ट गर्न सकिन्छ । यो मनोनय पत्र लिएर असार ३ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्नेछ । तोकिएको समयसीमा भित्र भर्ना नभएमा सम्बन्धित शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको दाबी स्वतः रद्द हुने समितिले प्रकाशन गरेको सूचनामा उल्लेख छ । समितिले असार ३ गतेपछि तेस्रो सूची निकाल्ने तयारी गरेको छ । 

यस वर्षका लागि १४५ वटा शिक्षण संस्थाका लागि चार हजार ८५७ कोटा निर्धारण गरिएको थियो । यसमा विज्ञान विषयका लागि २ हजार ३७१ कोटा छन् । व्यवस्थापनमा १ हजार ५४९, शिक्षामा ७, मानविकीमा ४९ र कानुनमा ७५ कोटा निर्धारित छन् । यी विषयमा १८ हजार ३५८ जना, २ हजार ३८२ जना, ११० जना, ४६३ जना, ६२१ जना विद्यार्थी भर्नालाई आधार मानेर कोटा निर्धारण गरिएको हो । 

छात्रवृत्ति छनोटका लागि जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची २१ गते अन्तिम सूची प्रकाशित भएको थियो । 

Share News