काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष तथा ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपाललाई डिल्लीबजार कारागार पठाइने भएको छ ।
मंगलबार जिल्ला अदालत काठमाडौंले उनलाई डिल्लीबजार कारागार पठाउन २ वर्षका लागि आदेश दिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनलाई बूढानीलकण्ठ नगरपालिका-१०, कटारीबस्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
उनीविरूद्ध जाहेरवाल युवराज खत्री रहेका थिए । अदालतले २०७९ जेठ २५ गते फैसला गरेको थियो । रकम नपाएपछि खत्रीले पुन: गत वैशाख ११ गते बिगो रकम बराबरको कैद भराइ पाउँ भनी अदालतलाई निवेदन दिएका थिए ।
प्रहरीका अनुसार चेक अनादरसम्बन्धी निवेदन परेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई २ वर्षको कैद सजाय भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
अनुसन्धान अघि बढाउने क्रममा उनलाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।
संखुवासभाको सभापोखरी स्थायी घर भएका ६७ वर्षीय नेपाल हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३, कौशलटारमा बसोबास गर्दै आएका थिए। नेपाल त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक पनि हुन् ।