काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भारतीय समकक्षी डा. एस. जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस ब्रिफिङमा यस भ्रमणले नेपाल र भारतबीचको अनन्य र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याएको विश्वास व्यक्त गरे ।
भ्रमणका क्रममा शनिबार नयाँ दिल्लीमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा व्यापार, आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र जनस्तरको सम्बन्ध अभिवृद्धि गर्नेलगायतका विषयमा गहन छलफल भएको थियो ।
सोही अवसरमा दुई देशबीच तीनवटा महत्त्वपूर्ण संयुक्त घोषणाहरू समेत गरिएका छन्, जसअन्तर्गत नेपालको एनसीएचएल र भारतको एनपीसीआईबीच अन्तरदेशीय भुक्तानी लेनदेनको औपचारिक सञ्चालन सुरु भएको छ ।
यसैगरी भारतको विकास सहयोगमा नेपालमा भूकम्पपछि पुनर्निर्माण गरिएका स्वास्थ्य क्षेत्रका ७२ र सांस्कृतिक क्षेत्रका १२ वटा परियोजनाहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको छ भने भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधार सह-निर्माणका लागि काठमाडौं विश्वविद्यालय र डिजिटल इन्डिया भाशिनी डिभिजनबीच समझदारी पत्रको घोषणा गरिएको छ ।
नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उच्चस्तरीय भेटवार्ता गरी नेपाल-भारत साझा सुरक्षा चासो, सीमा व्यवस्थापन तथा रणनीतिक साझेदारीका विभिन्न पक्षहरूमा विचार आदान-प्रदान गरेका थिए ।
त्यसैगरी, इन्डिया फाउन्डेसनद्वारा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले नेपालको परराष्ट्र नीतिका प्राथमिकताहरूमाथि प्रकाश पार्नुका साथै सहभागी प्रबुद्ध व्यक्तित्वहरूसँग ऊर्जा, व्यापार र सीमा क्षेत्रका साझा चासोका विषयमा अन्तक्र्रिया समेत गरे ।
स्वदेश फर्कनुअघि आजै बिहान उनले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको निरीक्षण गरी भारतमा नेपालीको हित रक्षाका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका थिए ।
यस भ्रमणले नेपालको सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिलाई थप सशक्त ढङ्गले अभिव्यक्त गर्दै आगामी दिनमा आपसी हितका क्षेत्रहरूमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार पारेको मन्त्री खनालले दाबी गरे ।