बुढीगण्डकी बाढीको कारण पत्ता लगाउन भूगर्भविद्को टोली परिचालन

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आइतबार (आज) बिहान आएको बाढीको कारण पत्ता लगाउन भूगर्भविद्को टोली परिचालन गरिएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीको कारण पहिचान गर्न ड्रोनसहित भूगर्भविद् सम्मिलित तीन सदस्यीय टोली खटाएको हो ।

प्राधिकरणका अनुसार बाढीबाट क्षतिग्रस्त सडक पुनः सञ्चालन तथा बेलिब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको हो ।

बाढीमा परी हालसम्म पाँच जना बेपत्ता भएका छन् । 

गोरखाको चुमनुब्री गाउँपालिका-६ चुम्चेतस्थित उङ्गिलुङका दुई महिला र तीन पुरुष बेपत्ता भएका हुन् । उनीहरूको खोजी कार्य जारी छ ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टर परिचालन गरिएको छ ।

धार्चे गाउँपालिका-१ यारुबगरमा फसेका १८ जनालाई पनि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, गोरखाका अनुसार बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँगै जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको हो ।

बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रका नागरिकको उद्धारका लागि तीनवटै सुरक्षा निकायका गरी ४३७ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्राधिकरणका अनुसार नेपाली सेनाका तीनवटा स्पेसल फोर्ससहित १२७ जना, नेपाल प्रहरीका १३३ जना र सशस्त्र प्रहरी बलका १७७ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्।

त्यस्तै, विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा नेपाल प्रहरीका थप ५० जनाको टोली तयारी अवस्थामा राखिएको छ ।

सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै गोरखा, लमजुङ र तनहुँका जिल्ला तथा प्रदेशस्तरीय द्रुत प्रतिकार्य टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ । 

सम्बन्धित अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई समेत आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, प्राधिकरणले बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

नदी किनार तथा जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा रहन र बाढीले क्षति पुर्याएका वा जोखिममा रहेका पुल तथा सडक प्रयोग नगर्न प्राधिकरणले अनुरोध गरेको छ ।

Share News