भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा छलफल गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा मन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा रहनेछन् । यसअघि नै मन्त्रालयले भ्रमणको विस्तृत कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रस्थानअघि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खनालले नेपालका प्राथमिकता र समसामयिक विषयमा भारतसँग खुला संवाद हुने बताएका छन् । 'हामीले उठेका सबै विषयमा आपसी समझदारीका साथ छलफल गर्नेछौं,' उनले भने ।

भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाममा गहन छलफल हुने अपेक्षा गरिएको छ ।

विशेषगरी व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा जनता–जनताबीचको सम्बन्ध विस्तार गर्ने विषयमा केन्द्रित रहेर विचार–विमर्श हुने मन्त्रालयले जनाएको छ ।

यो भ्रमण नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरताका रूपमा रहेको बताउँदै मन्त्रालयले यसबाट दुई देशबीचको ऐतिहासिक र बहुआयामिक सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेको छ ।

Share News