भोलि भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् । खनाल शुक्रबार (भोलि) देखि भारतको तीन दिने औपचारिक भ्रमणमा जान लागेका हुन्।

मन्त्री खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा भारत जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा। जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् । उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।

विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी ९सम्पर्क सञ्जाल०, ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने विज्ञप्तिमा उल्लेख छ ।

नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ ।

भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता फर्कने कार्यतालिका रहेको छ ।

रास्वपाका सभापति रवि लामिछाने पनि भारतमै छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायतसँग भेटवार्ता गरिसकेका छन् । 

Share News