नाडा अटो शो भदौ ९ गतेदेखि, स्टल बुकिङ जेठ २६ गतेसम्म खुला

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आगामी ‘नाडा अटो शो २०२६’ का लागि स्टल बुकिङ खुला गरेको छ । नाडा अटो शोको १८औँ संस्करण भदौ ९ गतेदेखि १४ गतेसम्म आयोजना हुने भएको हो । 

सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अन्य सम्बन्धित सरोकारवाला संघ-संस्थाहरूको सहभागितामा हुने यस प्रदर्शनीलाई नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल एक्स्पोका रूपमा लिइँदै आएको छ ।

नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालका अनुसार स्टल बुकिङ जेठ १८ गतेदेखि २६ गतेसम्म खुला गरिएको छ । उनले अटो शोले अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि र सेवाहरू प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए ।

प्रदर्शनीमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया तथा शुल्कबारे जानकारी व्यवस्थापक कम्पनीमार्फत प्राप्त गर्न सकिने नाडाले जनाएको छ । सहभागी संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी प्रतिष्ठित प्रदर्शनीको हिस्सा बन्न आग्रह गरिएको छ । 

Share News