नेपाल इन्स्योरेन्सलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड लाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्रदान गरिएको छ ।

यो अवार्ड न्यू बिजनेश एज लिमिटेड ले काठमाडौंमा आयोजना गरेको १०औं संस्करणको न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस् २०२६ समारोहमा प्रदान गरिएको हो ।

आयोजकका अनुसार बीमा क्षेत्रमा प्रभावकारी व्यवस्थापन, संस्थागत सुशासन, वित्तीय स्थायित्व, ग्राहक–केन्द्रित सेवा तथा व्यवसायिक उत्कृष्टताका आधारमा कम्पनीलाई सम्मान गरिएको हो ।

कम्पनीले पछिल्लो समय दाबी भुक्तानी प्रक्रियामा सुधार, डिजिटल प्रविधिको प्रयोग, सेवा विस्तार तथा ग्राहक विश्वासलाई प्राथमिकतामा राख्दै आफ्नो व्यवसाय विस्तार गर्दै आएको जनाएको छ । निर्जीवन बीमा क्षेत्रमा लामो अनुभव र विश्वसनीय सेवाका कारण कम्पनीले बजारमा बलियो पहिचान बनाएको दाबी गरेको छ ।

कम्पनीका अनुसार यस सम्मानले पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता तथा दीर्घकालीन व्यवसायिक दृष्टिकोणलाई थप पुष्टि गरेको छ । साथै आगामी दिनमा गुणस्तरीय सेवा प्रवाह गर्दै नवीन योजना र आधुनिक सेवा विस्तारमा केन्द्रित रहने जनाएको छ ।

कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्डसहित विभिन्न १० विधामा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा बैंकिङ, बीमा, उद्योग, व्यापार तथा कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

न्यू बिजनेश एज लिमिटेड ले सन् २०१३ देखि निरन्तर ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्ड’ आयोजना गर्दै आएको छ ।  

Share News