काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारले सहसचिव तहका एक कर्मचारी हटाएको विषयलाई लिएर अनावश्यक हल्ला र राजनीतिक आरोप लगाइएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो बताएका हुन् ।
सरकारको मातहत रहने कर्मचारी व्यवस्थापन सरकारको स्वाभाविक अधिकारभित्र पर्ने उनको भनाइ छ ।
सांसद भट्टराईले उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रधानसेनापति र मुख्यसचिव हटाएको स्मरण समेत गराए ।
उनले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले मुख्यसचिव हटाएको र हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पद खडा गरेको आरोप समेत लगाए ।
सांसद भट्टराईले भने, ‘केही कर्मचारीलाई सरकारले हटायो । त्यो एउटा सरकारको अविशिष्ट अधिकार पनि हो । कर्मचारी सरकारको मातहत हुन्छ । त्यसमा समीक्षा गर्न सकिन्छ । म कमरेड प्रचण्डलाई भन्न चाहन्छु- तपाईंले त प्रधानसेनापतिलाई नै हटाउनु भयो । एकपल्ट सम्झनु त । एकचोटि सम्झिनु त अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाउनु भयो । तर एउटा हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोस्ट खडा गर्नुभयो । अनि को अर्को मुख्यसचिव ल्याउनुभएको थियो तपाईंले ? अनि केपी ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता र मुटुमै गोली लागेको जस्तो किन भएको छ ?’
उनले सरकार र कर्मचारीबीच ‘ट्युनिङ’ नमिल्दा गरिएको व्यवस्थापनलाई अस्वाभाविक रूपमा नहेर्न पनि आग्रह गरे ।