पोखरामा १५ देशका ५१ विदेशीले लगाए भाइटीका

काठमाडौं । पोखरा भ्रमणमा रहेका ५१ जना विदेशी पर्यटकले भाइटीका लगाएका छन् । होटल संघ पोखराले तिहारका अवसरमा बुधबार आयोजना गरेको भाइटीका महोत्सवमा विभिन्न देशका ५१ पर्यटकले टीका लगाएका हुन् ।

उनीहरूलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरूले भाइटीका लगाइदिएका हुन् । सो अवसरमा अमेरिका, बेलायत, चीन, जापान, अस्ट्रेलियालगायत विभिन्न १५ देशका पर्यटकले भाइटीका ग्रहण गरेका थिए ।

आयोजक संघले संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने र आपासी भाइचार अभिवृद्धि गर्ने उद्देश्य महोत्सवले लिएको बताएको छ ।

सो अवसरमा पर्यटकले देउसी खेलेर र नाचगान गरेर समेत रमाएका थिए । सो अवसरमा पर्यटकलाई सेलरोटी चखाइएको र महिला पर्यटकलाई पछ्यौरा र पुरुषहरूलाई ढाका टोपी उपहारस्वरुप प्रदान गरिएको थियो ।

Share News