काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले यस्तो बताएका हुन् ।
दश वर्षदेखि संविधान प्रयोगमा रहेको उल्लेख गर्दै उनले अब पुनरावलोकन नभई संशोधनतर्फ लाग्नुपर्ने बताए ।
संविधान संशोधन प्रक्रियामा सहमतिको बाटो अपनाउनुपर्ने र त्यसका लागि सर्वदलीय समिति गठन गर्नु उपयुक्त हुने उनको भनाइ छ ।
उपसभापति गुरुङले निर्वाचन प्रणालीमा समेत सुधारको माग गर्दै वर्तमान समानुपातिक प्रणाली अन्तर्गतको बन्दसूची हटाउने प्रस्ताव गरे ।
उहाँले भने, ‘हामीले संविधान प्रयोगमा ल्याएको दश वर्ष भयो । संविधानको संशोधन सहमतिद्वारा गरौं भन्ने कुरा आएको छ, त्यो स्वागतयोग्य कुरा हो । यहाँ अर्को कुरा पनि थपिनुपर्ने थियो संविधान संशोधन गर्नको लागि सर्वदलीय समिति गठन गरिनेछ । संशोधन गर्न पनि सबै मिल्नैपर्छ । हामीले अब समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणालीमा जान आँट गर्ने कि नगर्ने ? अब ११० जनाको जुन बन्दसूची छ त्यसलाई हटाऊँ । १६५ निर्वाचन क्षेत्र बाँकी रहन्छ । बाँकी ५५ जना महिला हुने गरेर छुट्याइदिऊँ ।’
उनले अहिलेसम्म भएका भ्रष्टाचारको घट्नामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन उच्चस्तरीय छानविन आयोग बनाउन समेत प्रस्ताव गरे ।