बैंकिङ क्षेत्र पनि सहकारीजस्तै संकटमा पर्न सक्छ ?

<p>अहिले सर्वसाधारण नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सोध्छन्,‘तपाईंले बैंक खोल्न प्रमाणपत्र मात्र दिने हो कि बैंक डुब्यो भने बचतकर्ताको पैसाको पनि जिम्मा लिने ?’ सहकारी विभागले धमाधम सहकारी दर्ता गर्&#x200d;यो । तर, नियमन गरेन । जसले गर्दा आज लाखौं बचतकर्ताको खर्बौं बचत डुबेको छ । सहकारीका बचतकर्ताको बिचल्ली भएको छ । विभागले ३२ हजारभन्दा [&hellip;]</p>

अहिले सर्वसाधारण नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सोध्छन्,‘तपाईंले बैंक खोल्न प्रमाणपत्र मात्र दिने हो कि बैंक डुब्यो भने बचतकर्ताको पैसाको पनि जिम्मा लिने ?’ सहकारी विभागले धमाधम सहकारी दर्ता गर्‍यो । तर, नियमन गरेन । जसले गर्दा आज लाखौं बचतकर्ताको खर्बौं बचत डुबेको छ । सहकारीका बचतकर्ताको बिचल्ली भएको छ । विभागले ३२ हजारभन्दा बढी सहकारी दर्ता भएको बताउँछ । प्रमाणपत्र दिने पनि विभाग नै हो । तर, अहिले विभाग बचतकर्ताको विषयमा मौन छ ।

विभागले आँखा चिम्लेर इजाजत नदिएको भए आज बचतकर्ता आफ्नै पैसाका लागि संघर्ष गर्नुपर्ने दिन आउँदैनथ्यो । सहकारी किन डुब्यो ? यो घामजस्तै छर्लङ्ग छ । सञ्चालकको बद्मासी र अन्धाधुन्ध लगानीका कारण सहकारी नउकासिने अवस्थामा पुग्यो । बचतकर्ताको पैसामा सहकारी सञ्चालकले मनोमानी गरे । जसले गर्दा आज सहकारी संस्थाहरुमाथि ठूलो प्रश्न उठेको छ । सहकारी क्षेत्र बदनामी बनेको छ ।

सहकारी क्षेत्रकाे यो अवस्थासँगै पछिल्लो समय धेरैले राष्ट्र बैंक बैंक र बैंकिङ क्षेत्रको विषयमा पनि प्रश्न उठाउने गरेका छन् । सरकारको काम लाइसेन्स बाँड्ने मात्र होइन, नियमन गर्ने पनि हो । बैंकले पनि धमाधम सर्वसाधारणबाट पैसा उठाइरहेका छन् । त्यो पैसा घरजग्गामा प्रयोग भइरहेको छ । घरजग्गामै लगानी गर्दा आज सहकारीमा यो अवस्था सिर्जना भएको हो ।

बैंकहरूले पनि मनलाग्दी किसिमले लगानी गरिरहेको बुझाइ धेरैको छ । सरकार पनि बैंकहरूप्रति नरम छ । बैंकहरू घरजग्गा र सेयरमा मात्रै कर्जा दिन रुचाउँछन् । उत्पादनशील क्षेत्रमा बैंकहरूकाे नजर छैन । देशको अर्थतन्त्र घरजग्गा, गाडी र सेयर कारोबारले होइन्, उद्योग, कलकारखाना र आफ्नो उत्पादनले बलियो बनाउँछ । बैंकले एउटा पाउरोटी कारखानामा मात्र लगानी गरिदियो भने पाँच/छ जनाले रोजगारी पाउँछन् । राज्यलाई राजश्व आउँछ । एउटा सामान भएपनि मुलुकको आफ्नै उत्पादन हुन्छ । सेयर, घरजग्गा र गाडीमा कर्जा लगानी गर्दा कतिले रोजगारी पाउँछन् ?

अहिले वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको छ । विमानस्थलमा नेपालीको बलिन्द्र आँशु बगिरहेको छ । यो अवस्था किन आयो ? देश किन व्यापार घाटामा गइरहेको छ ? सरकारमा बस्नेहरूले कहिले याे विषय मनन् गरेका छन् ? देशमा उद्योग, कलकारखानाहरू छैनन् । सरकारले देशमै रोजगारीको अवसर सिर्जना गर्नु पर्ने र युवालाई यहीँ रोक्नुपर्ने बताउँदै आएको छ । तर, कसरी रोक्ने ? केही रणनीति छ ? उद्योग, कलकारखानाले नै रोजगारी पाउने हो । तर, त्याे वातावरण देशमा छैन ।  घरजग्गामा लगानी गरेर कसले रोजगारी पाउँछ ? उल्टै कृषक पनि विदेशिनु परेको छ । कृषिप्रधान देश अहिले युवा निर्यात गर्ने देशमा परिणत भएको छ । नेपालीले बाहिर गएर पठाएको रेमिट्यान्सले व्यापार घाटासमेत पूर्ति गर्न भ्याउँदैन ।

हामी कुन अवस्थामा छौं ? भन्ने विषयबारे गहन अध्ययन गर्न जरुरी छ । केही सीमित व्यापारीले व्यापार गर्ने थलोका रूपमा देशलाई बनाउनु हुँदैन । रेमिट्यान्सको पैसाले कतिञ्जेल अर्थतन्त्र धान्छ ? पर्यटन क्षेत्रमा सुधार भइरहेको सरकारको धारणा छ । तर, यसमा खुसी हुनुपर्ने कुरा छैन । किनकी पर्यटकले यहाँ खर्च गरेभन्दा यहाँबाट लैजाने धेरै छन् । पढ्ने नाममा नेपालीले खर्बौं रुपैयाँ बाहिरिरहेको छ । यसको कुनै लेखाजोखा छैन ।

पहिले लाखौं खर्च गरेर जान्छन्, त्यसपछि यहाँ भएको जायजेथो पनि बेचेर लैजान्छन् । अनि हामी पर्यटक आयो भनेर मख्ख पर्ने कि देशको पैसा गयो भनेर दुःखी हुने ? एकातिर हामीले युवा जनशक्ति गुमाइरहेका छौं । अर्कोतिर नेपालकाे पैसा पनि अरु नै मुलुकले लगिरहेका छन् । राष्ट्र बैंकले बैंकमा पैसा थुप्रिएको बताउँदै आएको छ । तर, कति पैसा थुप्रियो ? बैंकले कहाँकहाँ लगानी गरेको थियो र कति उठ्यो ? कहाँ गएर पैसा फ्रिज भएको छ ? यसको विवरण राष्ट्र बैंकले सार्वजनिक गर्ने हिम्ममत गर्दैन । अनि पैसा थुप्रिएको भनेर मख्ख हुनु पर्ने कुनै कारण नै छैन ।

गरिबले बैंकबाट कर्जा नपाएको गुनासो गर्छन् । ऋणीको घरमा गुण्डा पठाउनेसम्मका काम बैंकहरूले गरेको गुनासो सुनिन्छ । कौंडीको मोलमा आफ्नो सम्पत्ति गुमाएका अनगिन्ती उदाहरण छन् । बचतकर्ताबाट ८ प्रतिशतमा पैसा ल्याउने अनि त्यही पैसा १८ प्रतिशतमा लगानी गर्ने गरेको पनि सुनिन्छ । धेरैले बैंकहरू मिटरब्याजी भएको भन्न थालेका छन् । अहिले सबै क्षेत्रमा मन्दी आइसकेको छ । यस्तै अवस्था रहिरह्यो भने बैंकको भविश्य पनि कतै सहकारीको जस्तो त हुँदैन भन्ने शंसय सिर्जना भएको छ ।

बैंकहरूको वर्षेनी नाफा घट्दा सेयरधनीले पाउने लाभांश खुम्चिरहेको छ । लगानी गरेको कर्जा असुल हुन नसक्दा बैंकहरुको खराब कर्जा ह्वात्तै बढेको छ । बैंकरहरू नयाँ बिजनेस गर्नेभन्दा पनि कर्जा असुलतर्फ लागिरहेका छन् । नियामक नेपाल राष्ट्र बैंकले नीतिगत रूपमा कडाइ गरिरहेको छ । यही अवस्थामा उद्योगी व्यवसायीहरूले ब्याजदर घटाउन राजनीतिक शक्ति प्रयोग गरिरहेका छन् । यो सकसकाबीच काम गरिरहेका बैंकरलाई थप चाप र दबाब परेको छ ।

बैंकका अधिकांश ऋणी सम्पर्कविहीन छन् । अधिकांश सहकारीका सञ्चालक पनि फरार छन् । ती सहकारीका सञ्चालक कुनै न कुनै बैकका ग्राहकका रूपमा थिए  छन् पनि । घरजग्गा व्यवसाय  पनि गर्ने ती सहकारीका सञ्चालकहरू फरार हुँदा त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा पनि पर्न सक्ने विश्लेषण जानकारहरूले दिने गरेका छन् । सहकारीको योगदान बैंकिङ क्षेत्रमा अधिकतम् १५ प्रतिशतसम्म रहेको सुनिन्छ । अब त्यो क्षेत्र संकटमा पर्दा त्यो संकट स्वतः बैंकिङ क्षेत्रमा ट्रान्सर्फर हुने देखिन्छ । अझ फरार अवस्थामा रहेका सहकारीका सञ्चालकले बैंकमा रहेको अर्बौं ऋण नतिर्दा बैंकलाई पनि एक किसिमको सकस सिर्जना हुने देखन्छ । कतिपय बैंकरले त्यो विषय अनौपचारिक छलफलमा पनि भन्ने गरेका छन् । बेलैमा सम्बन्धित निकायले यस विषयमा नसोचिदियो भने अर्थात् बेलेैमा सम्बन्धित निकाय सजग र सर्तक नबन्ने हो भने सहकारीको संकट बैंकिङ क्षेत्रमा पनि ट्रान्सर्फर हुने निश्चित छ ।

(लेखमा व्यक्त विचार लेखकका निजी हुन्)

Share News