
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)को औचित्य र प्रभावकारिता बारे अध्ययन गर्नुपर्ने बताएका छन् । उनले निफ्राको प्रगतिबारे असन्तुष्टि व्यक्त गरेका हुन् ।
नेपाल उद्योग परिसंघले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट वाच कार्यक्रममा मुख्य सचिव अर्यालले निफ्रामाथि प्रश्न उठाएका हुन् ।
मुख्यसचिव अर्यालले बैंकको ब्याजदरको विषयमा धेरैको ध्यान गएको बताउँदै राष्ट्र बैंकले स्प्रेड र पोलिसि रेट घटाएकाले अब विस्तारै ब्याज घट्ने र सहज वातावरण सिर्जना हुने बताएका छन् ।
उनले सरकार र निजी क्षेत्रबीच नियमित छलफल हुन आवश्यक रहेको बताए । त्यस्ता छलफलमा निजी क्षेत्रले यकिन समस्या के हो त्यो विषय प्रष्ट रुपमा राख्नु पर्ने उनले बताए ।
सरकारको भूमिका सहयोगी वातावरण निर्माण गर्ने र निजी क्षेत्रले कार्यान्वयन गरेर प्रतिफल दिने गरी काम गर्नुपर्ने अर्यालले बताए ।
नेपालको व्यापार लागत उच्च भएकोले पनि अन्तर्राष्ट्रिय बजारमा व्यापार गर्न सकिने अवस्था नभएको अर्यालको भनाई छ ।