काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १.७६ प्रतिशत बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड ५७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १८.२७ प्रतिशत बढेर ४ अर्ब ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४५ करोड ६८ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा २.१७ प्रतिशत बढेर २ अर्ब २८ करोड ४६ लाख ८६ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ८.५५ प्रतिशत बढेर ९५ करोड ४ लाख २० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८.१७ प्रतिशत बढेर ५ अर्ब ६२ करोड ४० लाख २८ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा २५.०६ प्रतिशत बढेर १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष ११.१६ प्रतिशत घटेर ५ अर्ब ५० करोड ९० लाख ५ हजार रुपैयाँ, निक्षेप १९.६७ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब १४ करोड ७३ लाख ८१ हजार रुपैयाँ र कर्जा २१.६६ प्रतिशत बढेर १ खर्ब २८ अर्ब १२ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ८५ पैसा घटेर १३ रुपैयाँ ८८ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.३३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।