एनआईसी एसियाको नाफा १२.७४ करोड रुपैयाँ, ईपीएस पनि उकालो

काठमाडौं । एनआईसी एसिया बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ४.३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको असोजसम्म बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १७.३६ प्रतिशतले घटेको छ । गत वर्षको असोजसम्म २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८८ करोड ९२ लाख रुपैयाँमा झरेको छ ।

बैंकको सञ्चालन मुनाफा १६.५९ प्रतिशतले घटेर १६ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो मुनाफा १९ करोड ३५ लाख रुपैयाँ थियो ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १२.६८ प्रतिशतले घटेर २ अर्ब ४२ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको असोजसम्म यस्तो आम्दानी २ अर्ब ७७ करोड ९० लाख रुपैयाँ थियो । यद्यपि, खुद शुल्क तथा कमिसन आम्दानी भने ५.३२ प्रतिशतले बढेर ३५ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको कर्जा नोक्सानी व्यवस्थाबापतको रकम २१.६५ प्रतिशतले घटेको छ । गत वर्षको असोजसम्म १ अर्ब १८ करोड ६४ लाख रुपैयाँ रहेको यस्तो रकम चालु आर्थिक वर्षको सोही अवधिमा ९२ करोड ९४ लाख रुपैयाँमा झरेको छ । कर्मचारी खर्च भने ४.३३ प्रतिशतले बढेर ८३ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप र कर्जा दुवै घटेका छन् । गत वर्षको असोजसम्म ३ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको असोजसम्म निक्षेप ३ खर्ब ४१ अर्ब ८४ करोड रुपैयाँमा झरेको छ । यो ०.५३ प्रतिशतको गिरावट हो ।

त्यस्तै, बैंकको कर्जा तथा सापटी ०.४२ प्रतिशतले घटेर १ खर्ब ९१ अर्ब २० करोड रुपैयाँ कायम भएको छ । गत वर्षको असोजसम्म यस्तो कर्जा १ खर्ब ९२ अर्ब १ करोड रुपैयाँ थियो ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष २.२० प्रतिशतले बढेर २६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा अनुपात उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको असोजसम्म ६.९९ प्रतिशत रहेको निष्क्रिय कर्जा (एनपीएल) अनुपात चालु आर्थिक वर्षको असोजसम्म बढेर ९.८१ प्रतिशत पुगेको छ । त्यस्तै, पूँजी पर्याप्तता अनुपात १४.०३ प्रतिशतबाट घटेर ११.१२ प्रतिशतमा झरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३.२१ रुपैयाँबाट बढेर ३.३५ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७२.५३ रुपैयाँ रहेको छ ।

Share News