काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्ने मिति ७ दिन छोटिएको छ । नेपाल राष्ट्र बैंकले आज सबै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र संक्षिप्त प्रतिवेदन प्रकाशन गर्न निर्देशन दिएको छ ।
यसअघि चौथो त्रयमासको संक्षिप्त प्रतिवेदन साउन मसान्तभित्र प्रकाशन गर्दा हुने व्यवस्था थियो । तर बैंक तथा वित्तीय संस्थाहरुले पहिलो, दोस्रो र तेस्रो त्रयमासको वित्तीय विवरण भने सात दिनभित्रै प्रकाशित गर्नुपर्ने भनेको छ । नयाँ व्यवस्थाले बैंकर्सलाई काम छिटाे गर्न दवाव पर्ने जानकार बताउँदछन् ।
‘बैंंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन तोकिएको ढाँचामा हरेक त्रयमासको महिना व्यतित भएको मितिले ७ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्नेछ’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ–‘साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण यस बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ । यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्नेछ ।’
‘तर, चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नु पर्नेछ’ सशोधित दफामा उल्लेख गरिएको छ ।