काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ समिति सदस्यमा रहेको भन्दै सत्तारुण गठबन्धनका विद्यार्थी संगठनहरुले विरोध गरेका छन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्रको सङ्गठन अखिल क्रान्तिकारीले विरोध स्वरुप आईतबार राष्ट्र बैंक अगाडी विरोध गरेका हुन् ।
विरोधको क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा खोटाङ घर भएका एम अधिकारी मनोनयन भएको समाचार सार्वजनिक भएपछि गभर्नर विवादमा तानिएका हुन् । स्थायी घर खोटाङ भएका गभर्नर अधिकारीले भने आफु सो व्यक्ति नभएको बताएका छन् ।
राष्ट्र बैंक ऐनको दफा २१ (क) मा राजनैतिक दलको सदस्य वा पदाधिकारीका रुपमा नियुक्त हुन नहुने उल्लेख छ ।