काठमाडौं । अहिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा छन् । नेकपा एमालेको अर्थत तथा योजना समितिमा रहेको एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै अहिले सडकदेखि सदनसम्म उनको राजीनामा माग भइरहेको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेका गभर्नर अधिकारीको चौतर्फी रूपमा राजीनामा माग भइरहँदा उनी समस्यामा परेका हुन् ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर अधिकारीलाई बालुवाटारमै बोलाएर राजीनमा माग गरेको विषय पनि सार्वजनिक भएको छ । सडकदेखि सदनसम्म सरकारमा रहेको दल माओवादी केन्द्रले उनको राजीनामा र छानबिनको माग गरिरहेको छ ।
प्रधानमन्त्री देउवाले बिहीबारको बैठकमा गभर्नरसँग छलफल गर्दै राजीनामा मागेको बालुवाटार स्रोतको भनाइ छ । ‘प्रधानमन्त्रीले गभर्नरलाई विवादमा आएपनि मार्ग प्रशस्त पार्नुस् भन्नु भएको थियो, अहिले मौद्रिक नीतिको तयारीमा छौं, बिचमै राजीनामा दिँदा वा विदामा बस्दा मौद्रिक नीतिलाई प्रभाव पर्छ, मौद्रिक नीति सार्वजनिक लगत्तै विदामा बस्छु, छानविनका लागि सघाउँछु भन्ने जवाफ गभर्नरले प्रधानमन्त्री समक्ष दिनु भएको छ,’ बालुवाटार स्रोतले भन्यो ।
प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई राजीनामा नदिए सरकारले अन्य विकल्प अपनाउने चेतावनी दिएको पनि बुझिएको छ । स्रोतका अनुसार मौद्रिक नीति साउन १ गते ल्याउने तयारी छ । साउन एक गतेपछि गभर्नर अधिकारी विदामा बस्न सक्ने स्रोतको दाबी छ ।
प्रधानमन्त्री देउवाले शुक्रबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा गभर्नरले राजीनामा दिनु पर्ने धारणा राखेको पनि बुझिएको छ । गभर्नर अधिकारीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्ने धारणा बैठकमा राखेका थिए ।
उसो त गभर्नर अधिकारीले आफु एमालेको सो समितिमा नरहेको विषय प्रष्ट पारिसकेका छन् । एमालेले पनि गभर्नर अधिकारी एम अधिकारी भन्ने व्यक्ति नभएको जानकारी गराइसकेको छ ।