काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही क्षेत्रमा ब्याजदर बढ्न सक्ने बताएका छन् । नेपाल व्यवस्थापन संघ९म्यान०ले आयोजना गरेको मौद्रिक नीतिको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले अहिले सन्तुलित ढंगले मौद्रिक नीति ल्याउनु पर्ने आवश्यकता रहेकोले कुनै क्षेत्रलाई मर्का पर्ने भएपनि त्यसलाई सहनुको विकल्प नरहेको उनको भनाइ छ ।
अर्थतन्त्र असहज भएको बेला सबै सहज क्षेत्र सहज नहुने बताउँदै उनले निजी क्षेत्रले पनि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्नु पर्ने धारणा राखे । उनले अहिले दिँदै आएका केही सहुलियत तथा सुविधाहरु विस्तारै घटाउँदै लैजाने पनि बताएका छन् ।
‘कोभिडको समयमा व्यवसाय चलाउनको लागि हामीले ऋण संरचनादेखि लिएर पुनरकर्जाको सुविधा दिएका थियौं,क्रमशः सुविधाहरु घटाउँदै लिनु पर्ने आजको आवश्यकता हो, त्यसमा हामी सबैले साथ दिनु पर्छ,’ उनले भने ।
यस्तै, उनले अर्थतन्त्रमा अहिले विदेशी मुद्राको सञ्चिति घट्दा समस्या भएको बताउँदै सबैले आन्तरिक उत्पादन बढाउनतर्फ ध्यान दिनु पर्ने बेला भएको र राष्ट्र बैंकले पनि सोही अनुसार मौद्रिक नीति ल्याउने बताएका छन् ।