काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जिवी नेपालले सोसियल बिजनेसको माध्यमबाट रोजगारी बढाउनु पर्ने बताएका छन् । सेन्टर फर सेल्फ हेल्प डेभलपमेन्ट (सीएसडी) ले आयोजना गरेकाे १२औं सोसियल बिजनेस दिवसमा बाेल्दै उनले सोसियल बिजनेसको माध्यमबाट रोजगारी बढाउन आवश्यक रहेको बताएका हुन् ।
उनले सम्पति एकै ठाउँमा थुप्रिँदा गरिबी बढ्ने बताउँदै त्यसलाई विविधिकरण गरी रोजगारी बढाउनु पर्ने धारणा राखे ।
‘धन एकै ठाउँमा थुप्रिँदा गरिबी बढछ, गरिबी हटाउनका लागि उद्यमी उत्पादन आवश्यक छ, सोसियल बजिनेसको माध्यमबाट उद्यमी बढाउन र रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनले भने ।
यस्तै, उनले रोजगारी सिर्जना गर्ने महत्वपूर्ण क्षेत्र कृषि भएको पनि धारणा राखेका छन् । उनले वातावरण प्रभावलाई मानिसहरुले सिरियस रुपमा नलिएको बताउँदै यस विषयमा गहन भएर सोच्नु पर्ने बेला आएको पनि बताए ।
उनले उद्यमी सिर्जना गर्नका लागि लघुवित्त पनि महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । वित्तीय साक्षरताका लागि लघुवित्त राम्रो क्षेत्र भएको उनको भनाइ छ ।
यस्तै, सेन्टर फर सेल्फ हेल्प डेभलपमेन्ट (सीएसडी) का अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त संस्थाबीच नाफाको होडबाची चलिरहेको बताए । उनले यस्तो होडबाजी रोक्ने विषय चुनौतिपूर्ण रहेको धारणा राखे ।
बेरोजगारलाई कसरी शुन्यमा झार्ने भन्ने विषयमा सीएसडीले योजना बनाइरहेको बताउँदै उनले अब विद्यालय तहदेखि नै उद्यमी बनाउनका लागि ज्ञान दिनु पर्ने आवश्यकता रहेको धारणा राखे ।