ग्यास अभावले भारतका होटल र रेस्टुरेन्ट व्यवसाय जोखिममा
काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशपछि देशभरका रेस्टुरेन्ट तथा होटलहरूले ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी दिएका छन् । भारत विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को चौथो ठूलो क्रेता मानिन्छ । त्यस्तै खाना पकाउन प्रयोग हुने तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को दोस्रो ठूलो आयातकर्ता पनि भारत नै हो, जसको ठूलो हिस्सा मध्यपूर्वबाट आउने गर्दछ । पेट्रोलियम मन्त्रालयले मङ्गलबार जारी गरेको आदेशमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण होर्मुज जलडमरूमध्य हुँदै हुने एलएनजी ढुवानीमा अवरोध आएको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार नयाँ व्यवस्था लागू गरेर प्राथमिकता क्षेत्रहरूमा ग्यासको समान वितरण र निरन्तर उपलब्धता सुनिश्चित गर्ने उद्देश्य राखिएको छ । सरकारले घरपरिवार, यातायात क्षेत्र र एलपिजी उत्पादनलाई ग्यास आपूर्तिमा पहिलो प्राथमिकता दिन आदेश दिएको छ । यसबाहेक मल कारखाना र चिया उद्योगजस्ता अन्य क्षेत्रले उपलब्धताका आधारमा आफ्नो आवश्यकताको करिब ७० देखि ८० प्रतिशत मात्रै ग्यास पाउनेछन् । आपूर्ति सन्तुलन मिलाउन पेट्रोकेमिकल उद्योग र विद्युत् उत्पादन केन्द्रहरूमा दिइने ग्यास पूर्ण वा आंशिक रूपमा कटौती गरिने जनाइएको छ । ग्यास आपूर्तिमा कटौती सुरु भइसकेको भन्दै केही भारतीय उद्योगहरूले उत्पादनमा असर पर्न सक्ने चेतावनी दिइसकेका छन् । सिरेमिक र टाइल उत्पादन गर्ने धेरै कम्पनीले ग्यास अभावका कारण उत्पादन प्रभावित हुन सक्ने बताएका छन् । यसैबीच घरपरिवारलाई एलपिजी आपूर्तिमा प्राथमिकता दिने अर्को सरकारी आदेश सोमबार जारी भएपछि रेस्टुरेन्ट र होटल व्यवसायीहरू थप चिन्तित बनेका छन् । भारतको नेसनल रेस्टुरेन्ट एसोसिएसनले सरकारी निर्णयपछि देशभरका एलपिजी आपूर्तिकर्ताहरूले रेस्टुरेन्टहरूमा ग्यास आपूर्ति रोक्न सक्ने सङ्केत दिएको जनाएको छ । संस्थाका अनुसार रेस्टुरेन्ट उद्योग सञ्चालनका लागि मुख्य रूपमा व्यावसायिक एलपिजीमा निर्भर रहने भएकाले आपूर्तिमा कुनै अवरोध आए व्यापक रूपमा व्यवसाय बन्द हुने जोखिम छ । 'रेस्टुरेन्ट उद्योग मुख्यतया आफ्नो सञ्चालनका लागि व्यावसायिक एलपिजीमा निर्भर छ', सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यसमा अवरोध आए धेरैजसो रेस्टुरेन्टहरू विनाशकारी रूपमा बन्द हुन सक्छन् ।' दक्षिण भारतको प्रविधि केन्द्रका रूपमा चिनिने बेङ्गलुरुमा होटल उद्योग सङ्घका प्रमुख पीसी रावले पनि स्थिति चिन्ताजनक भएको बताए । उनका अनुसार ग्यास आपूर्ति प्रभावित भइसकेको छ र धेरै साना रेस्टुरेन्ट तथा होटलमा एकदेखि दुई दिनका लागि मात्र ग्यास मौज्दात बाँकी छ । 'अवस्था डरलाग्दो छ', रावले भने, 'अब धेरै प्रतिष्ठानहरूले परिस्थितिलाई ध्यानमा राख्दै आफ्नो मेनु घटाउने वा परिवर्तन गर्नेबारे सोच्न थालेका छन् ।' रासस
आमनिर्वाचन सम्पन्न भएकोमा पाकिस्तानले नेपाल सरकारलाई दियो बधाई
काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका हुन् । पाकिस्तानले नेपालसँगको भ्रातृपूर्ण सम्बन्धलाई अत्यन्त महत्व दिने उल्लेख गर्दै उनले दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । पाकिस्तानका उपप्रधानमन्त्रीले आफ्ना समकक्षी तथा नेपालमा बन्ने नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्रहरू विस्तार गर्ने तथा क्षेत्रीय शान्ति र समृद्धि प्रवद्र्धनका लागि मिलेर काम गर्ने सन्देशमा उल्लेख गरेका छन् ।
ट्रम्पको दावी– ‘इरानसँग अब केही बाँकी छैन, युद्ध छिट्टै सकिन्छ’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति इरानविरुद्धको युद्ध ‘छिट्टै समाप्त हुन सक्ने’ बताएका छन् । उनको यस अभिव्यक्तिपछि विश्वका सेयर बजारहरूमा तुरुन्तै सकारात्मक प्रभाव देखियो र तेलको मूल्य पनि केही घट्यो । उनले सीबीएस न्यूजलाई भनेका छन्, ‘मलाई लाग्छ युद्ध लगभग समाप्त भइसकेको छ ।’ ट्रम्पले यस युद्धबारे अमेरिकाको योजना ‘समयभन्दा अघि’ अघि बढिरहेको दाबी गर्दै इरानको सैन्य शक्ति धेरै हदसम्म समाप्त वा निष्क्रिय भइसकेको बताए । उनका अनुसार अहिले इरानसँग प्रभावकारी नौसेना, सञ्चार प्रणाली वा वायुसेना छैन । उसका मिसाइलहरू छरिएका छन्, ड्रोनहरू नष्ट गरिँदै छन् र ड्रोन कारखानासमेत ध्वस्त पारिँदै छन् । ‘सैन्य दृष्टिले हेर्दा अहिले उनीहरूसँग केही पनि बाँकी छैन,’ ट्रम्पले भने । जब उनलाई युद्ध ‘छिट्टै समाप्त हुन सक्छ कि ?’ भनेर सोधियो तब ट्रम्पले ‘मेरो पनि त्यही उद्देश्य हो’ भन्ने जवाफ दिए । तर पछि फ्लोरिडामा पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘इरानविरुद्धको हाम्रो अभियान छिट्टै समाप्त हुनेछ, तर यो हप्ता भने होइन ।’ ‘इरानसँग जे थियो सबै समाप्त भइसकेको छ, त्यसको नेतृत्वसमेत,’ उनको दावी छ । ‘हामी धेरै अगाडि पुगिसकेका छौं । यसको अन्त्य कस्तो हुन्छ भन्ने कुरा मेरो दिमागमा छ, अरू कसैको होइन,’ उनले थपे । यसअघि ह्वाइट हाउसले २८ फेब्रुअरीदेखि सुरु भएको यो युद्ध एक महिनाभन्दा बढी चल्न सक्ने अनुमान गरेको थियो । ट्रम्पका यी भनाइले विश्वका सेयर बजारमा सकारात्मक असर पारे । सोमबार अमेरिकी सेयर बजार बढेर बन्द भए । विश्लेषकहरूका अनुसार इरानसँगको संघर्ष छिट्टै समाप्त हुन सक्ने ट्रम्पको संकेतले बजारमा केही राहत दिएको हो । त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) र ब्रेन्ट क्रूड तेलको मूल्य सोमबार बिहान प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो । तर दिनभरि क्रमशः घट्दै करिब ९० डलर प्रतिव्यारेल आसपास झरेको छ । यी दुवै विश्वमा तेलको मूल्य निर्धारण गर्ने प्रमुख मानक मानिन्छन् । यसैबीच सोमबार ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका थिए । यस वर्ष उनीहरूबीच भएको यो पहिलो वार्ता हो । ट्रम्पका अनुसार पुटिनले सहयोग गर्न इच्छा देखाएका छन् । ट्रम्पले उनलाई ‘युक्रेनसँगको युद्ध समाप्त गरे अमेरिका र विश्वलाई अझ सहयोग गर्न सक्नुहुन्छ’ भनेका थिए । केही मिडिया रिपोर्टका अनुसार इरान युद्धका कारण विश्वभर तेलको मूल्य बढिरहेको विषयमा अमेरिका चिन्तित छ । त्यसैले उसले रूसमाथि लगाइएका तेलसम्बन्धी प्रतिबन्धहरू केही खुकुलो पार्ने विषयमा विचार गरिरहेको छ। गत साता मात्रै अमेरिकाले भारतलाई रूसबाट तेल किन्न ३० दिनको छुट दिएको थियो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेख्दै अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति कायम राख्न भारतीय रिफाइनरीहरूलाई रूसबाट तेल खरिद गर्न ३० दिनको अनुमति दिइएको बताएका थिए । ट्रम्प–पुटिन वार्ताकै बीच पुटिनले मोज्तबा खामेनेईलाई इरानको सर्वोच्च नेता चयन भएकोमा बधाई दिएका थिए र इरानप्रति आफ्नो समर्थन दोर्होयाएका थिए । यो जानकारी क्रेमलिनको वेबसाइटमार्फत सार्वजनिक गरिएको थियो । तर ट्रम्पले भने मोज्तबा खामेनेईलाई सर्वोच्च नेता बनाइएकोमा आफू ‘खुसी नभएको’ बताएका थिए । मोज्तबा हालै अमेरिकी–इजरायली हमलामा मारिएका पूर्व सर्वोच्च नेता अलि खामेनेईका छोरा हुन् । इरानी मिसाइलबारे ट्रम्पले भने, ‘उनीहरूले चलाउनुपर्ने सबै मिसाइल चलाइसके । अब कुनै नयाँ चाल चल्ने प्रयास नगर्नु राम्रो हुन्छ, नत्र त्यो देशको अन्त्य हुन सक्छ ।’ ‘यदि उनीहरूले गल्ती गरे भने इरानको अन्त्य हुनेछ र त्यसको नाम फेरि कहिल्यै सुनिने छैन,’ उनले चेतावनी दिँदै भने । त्यस्तै, स्ट्रेट अफ होर्मुज बारे ट्रम्पले अमेरिका त्यस क्षेत्रलाई ‘नियन्त्रणमा लिने विषयमा विचार गरिरहेको’ बताए । विश्वको समुद्री मार्गबाट हुने तेल आपूर्तिको करिब २० प्रतिशत यही मार्ग हुँदै जान्छ । युद्धका कारण यहाँ आवागमन प्रभावित हुँदा हालै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको थियो । युद्धको सुरुवातमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले होर्मुज जलडमरूमध्य बन्द गर्ने र त्यहाँबाट जाने जहाजहरूलाई नष्ट गर्ने धम्की दिएको थियो । तर पछि इरानका उपविदेशमन्त्री सईद खतीबजादेहले होर्मुज बन्द नगरिएको बताएका थिए । (बीबीसीबाट अनुदित तथा सम्पादित) इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली