ट्रम्पसँग बदला लिने सि जिनपिङको चेतावनी
काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बदला लिने चेतावनी दिएका छन् । अमेरिकाले चिनियाँ समानहरुको भन्सार दर व्यापक मात्रामा वृद्धि गरेपछि सि जिनपिङले बदला लिने चेतावनी दिएका हुन् । पिङले इँटाको जवाफ पत्थरले दिने भन्दै अमेरिकी समानहरु माथी आफुले पनि कडाई गर्न सक्ने संकेत गरेका हुन् । पिङले पश्चिमा देशहरुले एउटा गालमा थप्पड हान्दा अर्काे गाला थाप्ने गरेको तर चीनले भने एउटा गालामा थप्पड खाईएमा मुक्काले जवाफ दिने गरेको चेतावनीयुक्त अभिव्यक्ति दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । अमरिकी राष्ट्रपति ट्रम्पले १० प्रतिशत भन्सार लगाउन सकिने २ सय अर्ब डलर बराबरका चिनियाँ समानहरुको सूचि मागेका थिए । त्यसको जवाफमा पिङले गोल्डम्यान, फक्सवागन, स्याक्स लगायतका २० वटा कम्पनीका सिइओहरुको ग्लोबल काउन्सिल बैठकमा त्यस्तो चेतावनी युक्त अभिव्यक्ति दिएका हुन् ।
आठ देशका नागरिकलार्इ अमेरिका जान राेक, राष्ट्रपति ट्रम्प प्रसन्न
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सारेका थिए । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी आठ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको आदेशात्मक कानुन बनाएका थिए । त्यस कानुनलाई अमेरिकाका विभिन्न तहका अदालतले बदर गरिदिएका थिए । त्यसपछि ह्वाइट हाउस स्वयंकै यस मुद्धा सर्वोच्च अदालत पुगेको थियो । विश्वका केही देश, मानवअधिकारवादी र अमेरिकी अधिकारवादीहरुले यसरी कुनै निश्चित देशका नागरिकलाई अमेरिका छिर्न नपाउने भनी गरेको निर्णयको विरोध गरेका थिए । तर मङ्गलबार अमेरिकी सर्वोच्च अदालतले भने ट्रम्पको निर्णय सदर गरिदिएको छ । यो मुद्धाको फैसला न्यायाधीशको बहुमत सङ्ख्याको आधारमा गरिएको बताइएको छ । उक्त मुद्धाको फैसलामा ४ जना न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ जनाले भने ती मुस्लिम देश बाहुल्य भएका र अरु २ गरी ८ देशका नागरिकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाउनुपर्ने पक्षमा मत राखेका थिए । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि एकपछि अर्को गर्दै विभिन्न विषयमा उनका निर्णयहरु विवादमा परेका र अधिकांश त बदर नै भइरहेका छन् । कतिपयले उनको कार्यकाललाई विवादास्पद भनिरहेका छन् । तर यो फैसला भने ट्रम्पको पक्षमा आएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले यो पछिल्लो फैसलालाई उनको अहिलेसम्मकै ठूलो जितका रुपमा पनि लिएका छन् । राष्ट्रपति ट्रम्प प्रसन्न विभिन्न छ मुस्लिम देशसहित आठ देशका नागरिकले अमेरिका प्रवेश गर्न नपाउनेगरी अमेरिकी सर्वोच्च अदालतले फैसला गरे लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले सो फैसलाको स्वागत गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गरेर उक्त फैसलाको स्वागत गरेका हुन् । यस फैसलाप्रति उनले प्रसन्नता व्यक्त गरेका अमेरिकी सञ्चारले जनाएका छन् । राष्ट्रपति ट्रम्पले यो आफ्नो पुरानो निर्णय मात्र नभएर एक किसिमले भन्ने हो भने राष्ट्रपतीय निर्वाचनको एजेण्डा नै हो भन्दै उक्त निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएकोमा प्रशन्नता व्यक्त गरेका हुन् । यसअघिका तल्ला अदालतहरूले उक्त आदेश असंवैधानिक भनेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीट अकाउन्टमा अदालतको यस फैसलालाई ठूलो सफलता हो भनेका छन् । अहिले पनि ट्रम्प प्रशासन मेक्सिकोबाट गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूका विरुद्धमा कडा रुपमा प्रस्तुत भइरहेको थियो । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पनि संक्षिप्त प्रतिक्रिया दिने क्रममा अदालतको आदेशको स्वागत गरेका थिए । उनले सो प्रतिक्रियामा भने-“हामी हाम्रो देशको सुरक्षाको लागि जति कडा हुनुपर्छ त्यति नै हामीले हुन पाउनुपर्छ । आफ्नो देशको सुरक्षा हाम्रो अधिकार र दायित्व हो त्यसैले जसरी हामी सुरक्षित हुन सक्छौँ त्यो मापदण्ड हामीले पूरा गर्न पाउनुपर्छ ।’’ रासस/एएफपी
‘१५ वर्ष भित्र गरीबीको संख्या १४ करोड ५० लाखले घटाउने’
नयाँ दिल्ली । सरसरती हेर्ने हो भने सन् २०१६ एउटा त्राषदीको वर्ष थियो । भयानक आतङ्कवादी हमलाले धेरै देश आक्रान्त भए । सिरियाली सङ्कटले दशौं हजारको ज्यान लियो भने टर्कीले पनि आत्मघाती बम हमला र एउटा असफल सत्ता विद्रोह खेप्नुपर्यो । सत्तरीभन्दा धेरै देशमा जनताको स्वतन्त्रतामा गिरावट आयो तथा ब्रेक्जिट र अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयले राजनीतिमा सनसनी मच्चाए, किनभने यी दुवैको आँकलन न मिडियाले गरेका थिए न राजनीतिका दिग्गजले नै गर्न सकेका थिए । अन्तरराष्ट्रिय जनस्वास्थ्य क्षेत्रमा जिका समस्यालाई लिएर आपतकाल घोषणा गरियो । वास्तवमा यो साल हालसम्मकै विषममध्येमा रह्यो । अखबारका विचार पृष्ठ पढ्दा यस्तो अनुभव हुन्छ मानौँ सारा विश्व सङ्क्रमणमा छ तथा मानिसका सोच पनि कहालीलाग्दो रुपमा बिभाजित छन् । तर एक कदम पछाडि सरेर हेर्यौं भने आशावादी बनाउने धेरै कारण पनि प्रष्ट छन् । साँच्चै नै हामी इतिहासको सुन्दर समयमा बाँचिरहेका छौँ । अझ महत्वपूर्ण त के भने २४ घण्टे न्युज च्यानल र सामाजिक सञ्जालले बताए जस्तो कतिपय मुद्दा आत्तिनुपर्ने र निद्रा भगाउने खालका पनि होइनन् । यो सालको अत्यधिक सम्बोधित समस्या ‘बढ्दो असमानता’लाई नै हेरौँ न । यो अवश्य हो कि पछिल्ला दुई शताब्दीमा उच्च र न्युन आय भएकाको वीच विभेदको खाडल बढेको छ । तर त्यसो हुनुको कारण के हो भने १८२० ताका लगभग सारा विश्वका मानिस अत्यन्त गरीब थिए । ९० प्रतिशतभन्दा बढी मानव पूर्णगरीबीमा बाँचेको थियो । तत्पश्चात औधोगिक क्रान्ति द्रुत आय वृद्धि लिएर आयो सन् १९७८ पछि चीनमा र सन् १९९० पछि भारतमा उच्च वृद्धि देखियो । यसको समग्र असर पोहोर साल देखियो । हाल विश्वको १० प्रतिशत जनसंख्या मात्र अति विपन्नतामा बाँचेको छ । अझ हाल आएर त विकासशिल देशहरुले विश्वभर नै मध्य आय वर्गको वृद्धिमा ठूलो भूमिका खेल्दै आएका छन् र मध्य आय वर्गको विश्व जनसंख्या १९८५ को एक अरवबाट दुई गुणाबाट बढेर अहिले २०१५ मा २ अरब ३ कराेड भएको छ । गरीबीमा आएको यस्तो गिरावटले विगत तीन दशकदेखिको आयको असमानतालाई पनि थेगेर राख्न सकेको छ । असमानता अरु दृष्टिकोणबाट पनि घटेको छ । १९९२ पश्चात संसारमा भोका र खान नपाएका मानिसको संख्यामा २० करोडले कमी आएको छ, यद्यपि विश्व जनसंख्या यही समयमा दुई अरबले बढेको छ । भोकमरीले सन्तप्तको संख्या पनि १९ प्रतिशत देखि ११ मा आएर झन्डै आधा भएको छ । सन् १८७० मा तीन-चौथाई संसार निरक्षर थियो र आयमा भन्दा त्यसबेला शिक्षामा बढी असमानता थियो । अहिले हरेक पाँचमा चार जना पढ्न सक्छन् र विद्यालयमा युवाको अकल्पनीय पहूँच छ । अहिले देखिएको अशिक्षित संख्याको ठूलो भाग पनि पुरानो पुस्ता नै हो । स्वास्थ्य क्षेत्रको कथा पनि उस्तै छ । सन् १९९० मा एक करोड ३० लाख बालबालिका पाँच वर्ष पुग्नु अघि नै मर्थे । हाल खोप, पोषक खानेकुरा तथा स्वास्थ्य सेवाको कारणले यो संख्या ६० लाखभन्दा तल आएको छ । अझ महत्वपूर्ण कुरा त आज संसारभर सरदर उमेरको असमानतामा पनि कमी आएको छ किनभने औषधोपचारको क्षेत्रमा आएको परिवर्तनले एक शताब्दी अघि जुन उपचार सेवा कुलिन वर्गको लागि मात्र सम्भव थियो, अहिले धेरैको पहूँचमा पुगेको छ । छोटकरीमा भन्दा संसार रसातलोन्मुख भएको होइन । हो, धेरै समस्याको सम्बोधन हुन बाँकी छ तर ती भन्दा कम महत्वका कुराले हाम्रा विचार र सार्वजनिक वहसमा ठाउँँ पाइरहेका छन् । ट्रम्पको चुनावी विजय र उनले लत्याएको पेरिस जलवायु सम्झौतालाई लिएर कतिले यसले मानव सभ्यतालाई अन्त्यको संघारमा ल्याउन सक्ने भन्नेसम्म उद्घोष गरे । तर पेरिस सम्झौताले कहिल्यै पनि ग्लोबल वार्मिङको समस्यालाई सुल्झाउन सक्ने सामर्थ्य राख्दैनथ्यो । संयुक्त राष्ट्रसंघकैअनुसार पनि औधोगिकरण अघिको तापक्रमभन्दा दुई डिग्री माथिसम्म मात्रै ल्याउन कार्वन डाइअक्साइड उत्सर्जनमा गरिने कटौतीले एक प्रतिशत मात्र सहयोग पुर्याउने थियो । अर्कोतिर ट्रम्पको व्यापार खारेज गर्ने निर्णयलाई पनि विरोध कम छ र बरु न्युयोर्क, वर्लिन र पेरिस जस्ता मुख्य शहरमा समर्थन मिलेको छ । लागत–नाफा विश्लेषणले पनि के भन्छ भने संसारका अति विपन्न जनतालाई पनि सहयोग पु्यार्उने एकमात्र शक्तिशाली उपाय स्वतन्त्र व्यापार नै हो । मेरो आफ्नै ‘थिङ्क ट्याङ्क’ कोपेनहेगन कन्सेन्सस् सेन्टरले गरेको अनुसन्धानअनुसार पनि लगभग सुषुप्त रहेको विश्व स्वतन्त्र व्यापार सम्बन्धी ‘दोहा डेभलप्मेण्ट राउण्ड’ लाई जगाउन सके मात्र पनि यसले संसारभरका अरबौँ मानिसहरुको आयस्तर बढाउने छ र १५ वर्ष भित्र गरीबीको संख्या १४ करोड ५० लाखले घटाउने छ । स्वास्थ्यसम्बन्धी हाम्रा धारणा पनि यसरी नै दिग्भ्रमित छन् । विशेषतः अमेरिकामा जिका भाइरस प्रवेश पछि हामी त्यसैमा रुमल्लिएर बस्यौँ जबकि ब्राजिल वा अन्य विकासशिल देशमा मात्र बालबालिकाको स्वास्थ्यमा जघन्य असार पुर्याउने जिका भाइरस चासोको बिषय हुनु सही हो । क्षयरोगलाई कसैले चासोको बिषय बनाएको छैन तर संसारभर यो जस्तो ज्यानमारा अर्को सरुवा रोग छैन । हामीलाई क्षयरोगको निदान थाहा छ अनि बाल मृत्युदर घटाउन र कुपोषणमा कमी ल्याउन पनि आउँछ, तर हाम्रो ध्यान अरु समस्याहरुमा छ । तसर्थ हामी २०१७ मा अझ राम्रो गर्ने संकल्प गरौं । हामीले गलत बिषयहरुमा तथा समस्या समाधानका असफल प्रयासा समय खेर फाल्न छोड्नु पर्छ । उदाणका लागि जलवायु समस्यासँग जुध्न हामीले हरित उर्जा सस्तो र सुलभ बनाउन तिनको अनुसन्धान र बिकासमा जोड दिनुपर्छ जसले गर्दा तिनीहरु पेट्रोलियम पदार्थका पर्याय बन्न सकुन् । हामीले स्वतन्त्र व्यापार नै गरीबी निवारणका लागि सबभन्दा उपयुक्त नीति हो भनि आवाज बुलन्द पार्न पनि सक्नुपर्छ । साथसाथै के पनि सम्झनुपर्छ भने महत्वपूर्ण सूचकले जीवन विगत भन्दा वर्तमानमा सुन्दर छ भनेर देखाएका छन् । हामीले रोग, अकाल तथा गरीबी विरुद्ध गरेका प्रगतिमा खुशीयाली मनाउनुपर्छ तथा विश्वले सामना गर्नुपरेका वास्तविक समस्याको समाधान गर्न सही र सटिक बिकास पद्दति लगानी गरी अझ अघि लम्कनुपर्छ । (ब्योन लम्बर्ग कोपेनहेगन कन्सेन्सस सेन्टरका निर्देशक तथा कोपेनहेगन बिजिनेस स्कुलका भिजिटिङ प्रोफेसर हुन् ।) अनुवादः एकराज पाठक रासस/प्रोजेक्ट सिन्डिकेट, अन्तरराष्ट्रिय आलेख सेवा